बहिष्कार अभियानको घानमा पिसिँदै सेलिब्रेटी
पछिल्लो समय नेपाली राजनीति प्रति आम जनताको वितृष्णा व्याप्त रहेको छ। बिशेष गरि प्रमुख दल र त्यसका नेताहरु प्रतिको वितृष्णा सामाजिक संजाल देखि सार्वजनिक स्थलसम्म देखिन थालेको छ। गणतन्त्रको स्थापना पछि सोचे जस्तो नभएको विकास, नेतृत्वले जनमुखी काम गर्न नसकेको कारण केहि जमात पुन: राजतन्त्रको पक्षमा वकालत गरिरहेको देखिन्छ। जनताले रुचाएका व्यक्तिहरु प्रति सरकारले निर्माण गरेको असहज वातावरणका कारण पनि नेता र मुख्य दल प्रतिको आक्रोश झन् बढेको देखिन्छ।

यसको प्रभाव अव सेलिब्रेटीमा पनि पर्न थालेको देखिन्छ। कलाकारले दिएको अभिव्यक्तिका कारण उनीहरुले सामाजिक संजालमा खेपेको तिब्र आलोचना र उनीहरुका कन्टेन्टलाई चलाइएको बहिष्कार अभियानले पनि यसको पुष्टि गर्छ। पछिल्लो केहि महिनाका उदाहरण यसलाई पुष्टि गर्न पर्याप्त हुन्छ।
केहि महिना अगाडी प्रधानमन्त्री केपी ओलीको एउटा पुस्तक विमोचन कार्यक्रममा प्रकाश सपुतलाई निम्त्याइएको थियो । कुनै स्थानमा आमन्त्रण गरेपछि अथवा पाहुना बनेर पुगेपछि उनको प्रसंसा गर्नु स्वभाविक हो। सपुत हतपत्त कसैको नराम्रो कुरा सार्वजनिक स्थलमा आएर गर्ने गर्दैनन्। सोहि कुरा त्यहा पनि देखियो र उनले व्यक्ति केपी शर्मा ओलीको प्रसंसा गरे। राजनैतिक हिसाबले जे-जस्तो भए पनि व्यक्तिगत हिसावमा उनले भोगेका उतारचढाव, दुईवटा किड्नी फेर्दा पनि देखिएको उर्जाको उनले प्रसंसा गरे । यति भएपछी आलोचकहरुले उनलाई सामाजिक संजालमा खेदो खने। बहिष्कार अभियानसम्म चलाए र त्यसको प्रभाव थोरैबहुत उनको रिलिज चलचित्र वसन्तमा पनि देखियो। निकै अपेक्षा गरिएको चलचित्रको कलेक्सन २ करोड आसपास मात्र पुग्यो। तर यसको सवै दोष बहिष्कार अभियानलाई मात्र दिएर हुदैन। उनको चलचित्र नै सोचेजस्तो बनेको थिएन भन्ने समिक्षा सवैले पढिसके। नभए त झन्डै ५० हजार दर्शक किन हाल पुग्थे होलन् र। सामाजिक संजालको गाली त उनले अहिलेसम्म पनि पाइरहेका छन्।
त्यस्तै अर्को घटना घट्यो अभिनेत्री सुरक्षा पन्तसंग । एक अन्तर्वार्तामा पुगेकी पन्तलाई राजनैतिक प्रश्नहरु सोधियो। उनले त्यहा धेरै कुराको प्रतिक्रिया दिएकी थिइन्। तर सामाजिक संजालमा व्यापक बन्यो, पूर्वनवयुवराज हृदयन्द्र शाहको बारेमा उनले दिएको प्रतिक्रिया। उनले पारसको छोरा , लुक्स राम्रो भएको र चलचित्रको हिरो बन्दा हुन्छ भन्ने प्रतिक्रिया दिईन्। उनको शैली केहि खिसिट्यूरी देखिएको भन्दै सामाजिक संजालमा उनको चर्को आलोचना भयो । अहिले बहसको बिषय नै यहि बनिरहेको छ। राजावादीहरु त चर्को रुपमा उनको विरोधमा देखिएका छन् भने राजनैतिक वितृष्णा अनुभूत गरिरहेका व्यक्तिहरु पनि यसमा जोडिएका छन्। उनको रिलिज चलचित्र ‘खेल’ बहिष्कारको अभियान नै चल्यो। तर यसको श्रेय पनि उनको यो अभिव्यक्तिलाई मात्र दिन नमिल्ला। नयाँ जनरामा निर्माण भएको चलचित्रको प्रचार दर्शकसम्म पुग्न खासै सकेको थिएन।
यी दुई प्रतिनिधि घटना मात्र हुन्। यस्ता धेरै आलोचनात्मक बहस पछिल्लो समय व्यापक बनिरहेको छ । राजाबादी त गणतन्त्रको बहस र राजनीतिक तरलताको यो बीचमा अभिव्यक्ति दिदा सोचनीय हुने समय छ। तर त्यो बन्दैमा आफ्नो अभिव्यक्ति नै नदिने भन्ने पनि हुन्। एक पक्षको समर्थनमा आफ्नो विचार राख्दा दोश्रो पक्षलाई चोट पुग्नु स्वभाविक हो। तर कति, कस्तो अभिव्यक्ति दिएको छु भन्ने चै विचार गर्नुपछ।
तर आफ्नो चलचित्र असफलता र असफलताको जस-अफजस सवै विवादलाई मात्र दिएर पनि हुँदैन। बहिष्कार अभियानकै कारण चलचित्र असफल हुने हो भने त ‘छक्का पन्जा’ सिरिज उहिले पत्तासाफ भैसक्नु पर्ने हो । यो पटक सामाजिक संजालमा देखिएको बहिष्कार अभियान र तिव्र आलोचनाले त झन् चलचित्रले पनि पनि भन्न नपाउनु पर्ने हो। तर बर्ष २०८१ को सर्वाधिक कमाई गर्ने चलचित्रको शिर्ष ३ मा चलचित्र रहेको छ।