महेश र अस्मिताको स्वरमा ‘जन्ते बाख्रो’ को गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक


सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको चलचित्र ‘जन्ते बाख्रो’को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक गरिएको छ । गीतमा महेश काफ्लेको शब्द रचना तथा कम्पोज र गायनमा महेशलाई अस्मिता अधिकारीले साथ दिएकी छन् ।

शुक्रबार सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार आशिफ शाह र गरिमा शर्मा फिचर्ड छन् । भिडियोमा आशिफले गीत मार्फत् गरिमाको तारिफ गरेर फकाउँदै गरेको देख्न सकिन्छ । चलचित्रमा सौगात मल्ल, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको चलचित्रको निर्माता सन्तोष गौतम हुन् । नेपाली समाजमा बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ । चलचित्रको कथावस्तु यसैको वरिपरि आधारित रहको छ । चलचित्र आगामी जेठ २३ गतेबाट नेपाल विदेशमा एकसाथ रिलिज गरिनेछ।

प्रतिक्रिया दिनुहोस्