‘ऊनको स्वीटर’ का कलाकारहरू परीक्षा र एलेक्सको पात्र परिचय गर्ने नयाँ तरिका
वैशाख २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘ऊनको स्वीटर’ को ‘काफ्ले’ बोलको गीतले दर्शकको राम्रो साथ पाएको छ। युट्युवमा राम्रो भ्युज पाएको यो गीत छोटा भिडियो प्लेटफर्महरू टिकटक, फेसबुक–इन्स्टा रिल्स र युट्युब शर्ट्समा भाइरल बनेको छ।

झुमा लिम्बु र सुजन चापागाईंको स्वर, झुमाकै सङ्गीत र युवराज काफ्लेको शब्दले सजिएको यस गीतले लाखौं दर्शकको मन जितेको छ । गीत सार्वजनिक भएको केही समयमै यसको अफिसियल म्युजिक भिडियोलाई युट्युबमा १२ लाखभन्दा धेरैपटक हेरिएको छ । त्यस्तै, टिकटकमा मात्रै ५० हजारभन्दा बढी प्रयोगकर्ताले यसमा भिडियो निर्माण गरिसकेका छन् ।
गीत सार्वजनिक कार्यक्रममा गायिका लिम्बु र गायक चापागाईंले प्रत्यक्ष प्रस्तुत गरेका यो गीतले बिशेष चर्चा बटुल्न सफल भएको थियो ।
यसैबीच, ‘ऊनको स्वीटर’को निर्माण कम्पनी आर्टमाण्डूले पछिल्लो समय डिजिटल ट्रेन्डलाई आत्मसात गर्दै कलाकारहरूको पात्र परिचय छोटा भिडियो प्लेटफर्ममार्फत गराएको छ । ट्रेन्डकै रुपमा पहिलो पटक चलचित्रका कलाकारहरूको पात्र परिचय टिकटक, फेसबुक–इन्स्टा रिल्स र युट्युब शर्ट्समार्फत सार्वजनिक गरिएको हो ।
चलचित्रमा प्रमुख पात्र परीक्षा लिम्बु र एलेक्स पारसलाई पहिलोपटक ‘काफ्ले’ गीतमा नाचिरहेको देखाइएको छ । गीतको अफिसियल भिडियोमा भने चर्चित अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगर देखिएका छन् ।
आर्टमाण्डूले कलाकारहरूको झलक सार्वजनिक गर्दै भनेको छ, “हामीले यो झलकमार्फत ‘ऊनको स्वीटर’का पात्रहरूप्रति तपाईँहरूको जिज्ञासा र प्रेम झनै बढ्ने विश्वास लिएका छौँ । यो न्यानो सिर्जनाशीलताको यात्रामा तपाईँहरूको साथको अपेक्षा गरेका छौँ ।”
कलाकारहरूको पात्र परिचय गराउन नयाँ शैली अपनाइएको विषयमा ‘ऊनको स्वीटर’का निर्देशक नवीन चौहानले पछिल्लो प्रविधि अँगाल्नु अहिलेको अपरिहार्यता रहेको बताए । उनले भने, “पात्र परिचयको रूपमा नयाँ प्रयोग गरी सार्वजनिक गरिएका भिडियोहरूमा छोटो समयमा नै दसौँ लाख दर्शकले हेरिसक्नु भएको छ र यसलाई अत्यधिक मन पराउनुभएको छ । हाम्रो नयाँ प्रयासलाई सहजै स्विकार गरिएको छ । हामीले पोस्टरमार्फत् पात्र परिचय गराएको भए सायद यति धेरै दर्शकमाझ यति छिटो पुग्ने थिएन होला । पछिल्लो प्रविधि अँगाल्नु अहिलेको अपरिहार्यता हो।”