‘महाभोज’ को नयाँ पोष्टरमा के छ?
दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्र ‘महाभोज’ जेठ १५ गतेबाट रिलिजको तयारीमा रहेको छ। मल्टिस्टारार चलचित्र गणतन्त्र दिवसको अवार पारेर रिलिज हुँदैछ। रिलिज मिति नजिकिदै गर्दा निर्माण टिमले चलचित्रका दुई नयाँ पोष्टर सार्वजनिक गरेको छ। सार्वजनिक पोष्टरमा चलचित्रका प्रमुख कलाकारलाई स्थान दिईएको छ ।

एक पोस्टरमा चलचित्रका प्रमुख ६ कलाकारहरू आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महतलाई समावेश गरिएको छ । पोस्टरको पृष्ठभूमिमा पैसा देखाइएकाले यो पोस्टरले चलचित्रमा राजनीतिक र सामाजिक प्रतिविम्ब रहेको सङ्केत गर्छ ।
दोस्रो पोस्टर भने ग्रामीण परिवेशमा आधारित छ, जसमा मुख्य ६ कलाकारहरूसँगै वसुन्धरा भुसाल, बुद्धि तामाङ र कमलमणि नेपालजस्ता चर्चित कलाकारहरूलाई पनि देखाइएको छ ।

चलचित्रका निर्देशक दिनेश राउतले पोस्टर सार्वजनिक गर्दै वैशाख ९ गते मङ्गलवार चलचित्रको टिजर सार्वजनिक गरिने जानकारी दिएका छन् । निर्देशक राउतका अनुसार महाभोज मनोरञ्जनको प्याकेजसँगै दर्शकलाई सोच्न बाध्य बनाउने कथा समेत हो । उनले भने, “समाजमा भइरहेका घटनाक्रम र त्यसले जनताको जीवनमा पार्ने असरलाई यस चलचित्रमा उजागर गर्ने प्रयास गरेको छु ।”
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता हिमाल कडरिया हुन् । चलचित्रको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन् । निर्माण पक्षका अनुसार चलचित्र नेपालसँगै नेपालीहरू बसोबास गर्ने प्रायः सबै मुलुकमा एकसाथ प्रदर्शनमा ल्याइनेछ ।