१३ हलमा ‘लाज शरणम्’ को ५१ दिन पार, कस्तो छ बक्स अफिस कलेक्सनको आंकडा


शिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट रिलिज भएको चलचित्र ‘लाज शरणम्’ ले प्रदर्शनको ५१ औँ दिन मनाएको छ । उच्च हाइप र शो सहित प्रदर्शनमा आएको चलचित्रले १३ वटा हलहरूमा प्रदर्शनको ५१ औँ दिन मनाएको छ ।

जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको ‘लाज शरणम्’ ले काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, विग मुभिज, सिडिसी सनेमा र मोफसलमा झापाको विर्तामोडमा रहेको क्युएफएक्स, दमकमा रहेको डिम्याक्स सिनेमाज र बुटवलमा रहेको आइएनआई सिनेमाजमा प्रदर्शनको ५१ औँ दिन पूरा गरेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए ।

‘हाम्रो चलचित्र लाज शरणम् ५१औँ दिनमा प्रवेश गरेको छ,’ निर्माता श्रेष्ठले भने, “दर्शकको राम्रो प्रतिक्रियासहति अहिले पनि चलिरहेको छ। चलचित्रले हालसम्म ५ करोड बराबरको ग्रस कलेक्सन गरेको निर्माण टिमले जानकारी दिएको छ। कलाकारको टीम र हाइप अनुसार यो कमाई कम हो। चलचित्रमा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), रेणु योगी, अर्पण थापा मुख्य भूमिकामा छन् ।

चलचित्रमा कमलमणी नेपाल (खुपीका बाउ), मुकुन्द श्रेष्ठ, माला लिम्बुसँगै प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामतलगायत कलाकारको अभिनय छ । चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्