३६ दिनमा सकियो दया र विजयको ‘वरिष्ठ बलराम’ छायांकन


दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा रहेको चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा ३६ दिनमा चलचित्रको सुटिङ सकिएको हो । सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको चलचित्र सामाजिक कथावस्तुमा निर्माण भएको छ। “हामीले अपेक्षा गरेजस्तै चलचित्रको छायांकन गर्न सफल भएका छौँ । कथाले मागेको लोकेसनमा चाहे जसरी छायांकन गरेका छौँ,” निर्देशक पौडेलले भने, “अब पोस्टप्रोडक्सनमा पनि मेहनत गर्नेछौँ र दर्शकले चाहेजस्तै चलचित्र निकाल्ने छौँ ।”

चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ । ‘वरिष्ठ बलराम’ लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुनेछ ।

आशिस एच तामाङ र श्रीराज कार्की निर्माता रहेको चलचित्रमा महेश दवाडी र निर्देशक पौडेलको कथा रहेको छ। मानकृष्ण महर्जनको छायांकन रहेको चलचित्रलाई निर्देशक पौडेलले नै सम्पादन गर्नेछन्। कुशल सम्पादकको रुपमा आफुलाई स्थापित गरेका पौडेलको यो चौथो निर्देशकीय चलचित्र हो । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, प्रदीप लामाको कोरियोग्राफी रहेको छ । ‘वरिष्ठ बलराम’ निर्माण वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्यमा निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्