‘अन्जिला’ को तीन दिने कलेक्शन २ करोड माथी
बिहीबारबाट रिलिज भएको चलचित्र ‘अन्जिला’ लाई दर्शक र समिक्षकको राम्रो साथ मिलिरहेको छ। हलमा हाउसफुल व्यापार गरेको चलचित्रको तीन दिनको कलेक्सन निर्माण टिमले सार्वजनिक गरेको छ। निर्माताले आइतबार सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो चलचित्रले बिहीबार शुक्रवार र शनिवार गरी २ करोड ७ लाख व्यापार गरेको छ।

चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले वितरकहरूबाट प्राप्त रिपोर्टका आधारमा कलेक्सन रिपोर्ट सार्वजनिक गरेको बताए । रिलिजको पहिलो दिनदेखि नै यस चलचित्रले उल्लेख्य रूपमा दर्शकको साथ पाउँदै आएको छ । रिलिजको दिन फागु पूर्णिमा भएको कारण मध्य दिनदेखि शो सुरु भएता पनि दिउँसोदेखि प्राप्त सम्पूर्ण शोहरू हाउसफुल भएका थिए भने शुक्रवार पनि चलचित्रलाई दर्शकको राम्रो साथ प्राप्त भएको थियो । शनिवार देशभरका सम्पूर्ण शोहरू हाउसफुल भई नयाँ शोहरू समेत थपिएको थियो र थपिएका शोहरु समेत तुरुन्तै हाउसफुल भइरहेको निर्देशकले बताएका थिए ।
चलचित्र ‘अञ्जिला’ले आइतबार पनि राम्रो व्यापार गर्न सफल भएको वितरक करण श्रेष्ठले बताए । बिहानीका शो हरुमा केही कम दर्शक देखिएता पनि दिउसो र साँझपखका प्रायः शोहरू हाउसफुल रहेको श्रेष्ठले बताए । आइतबार पनि चलचित्र युनिट दर्शकलाई भेट्न हलहलमा पुगिरहेको छ ।
‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ । यस चलचित्रमा एन्जिलाको साथमा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।