चलचित्र ‘आउटलः दफा २१९’ मा रियल कुटाई खाएका सुशीलको अनुभव यस्तो
हलमा प्रदर्शनतर चलचित्र ‘आउटलः दफा २१९’ का एक्सन दृश्यलाई दर्शकले तारिफ गरिरहेका छन्। यो चलचित्रका लागी नायक सुशील श्रेष्ठले एक्सनका लागी गरेको मिहेनत प्रस्ट देखिन्छ। यहि बीचमा उनले चलचित्रका लागि रियल कुटाई खाएको भन्दै एक भिडियो र केही तस्वीर सार्वजनिक गरेका छन् ।

तस्वीर सार्वजनिक गर्दै उनले मेकरले रियल नगरौं भन्दा पनि फिल आउँछ भने रियल नै गरौं भनेर आफूले दृश्य दिएको बताए । उनले लेखेका छन्–‘म अझै सम्झन्छु, जब हामी यो दृश्य सुट गर्दै थियौं, निर्देशकले बारम्बार भनेका थिए, रियल नगरौं । तर, मैले भनेको थिएँ, यदि यो दृश्यलाई म सकेसम्म वास्तविक बनाउन सके भने, दर्शकहरुले यसलाई अझ गहिरोसँग महशुश गर्नेछन् ।’ उनले यो चलचित्रमा आफ्नो टिमले दिनरात नभनी मिहिनेत गरेर काम गरेको पनि सुनाए । साथै, हरेक दृश्यलाई उत्कृष्ट बनाउनका लागि निकै मिहिनेत गरिएको पनि उनले संझिएका छन् । उनले लेखेका छन्–‘हाम्रो सपना थियो, संवेदनशील विषयलाई उठाएर नेपाली एक्सन चलचित्रलाई नयाँ उचाइमा पुर्याउने ।’

सुशीलले चलचित्र नहेरेका दर्शकलाई हेरेका दर्शकले सामाजिक संजालमा प्रतिक्रिया बाँड्न पनि आग्रह गरेका छन् ।
विहिबारबाट रिलिजमा आएको यो चलचित्रले दर्शकको राम्रो साथ पाइरहेको छ । चलचित्रको एक्सन, कथावस्तु र मेकिङलाई दर्शकले रुचाएका छन् । चलचित्रले न्यायको पक्षमा आवाज उठाएको छ । जसलाई दर्शकहरुले मुक्तकण्ठले प्रशंसा गरेका छन् । विक्की महर्जनको निर्देशनमा तयार भएको चलचित्रमा अमित अग्रहरिको लगानी छ ।