‘डोरी’ ट्रेलर: थ्रिल तथा हरर दृश्यहरूको मिश्रण
चैत १५ गते रिलिज हुने चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंको नयाँ बानेश्वरस्थित आइएनआइ सिनेमाजमा आयोजित एक समारोहका बीच ट्रेलर सार्वजनिक गरिएको हो । प्राय: सबै पात्रहरूलाई प्रस्तुत गरिएको ट्रेलर चलचित्रको शीर्षक वरपर घुमेको छ । यसमा डोरीलाई शक्ति रहेको स्थितिमा सबैले खोजी गरिरहेको देखाइएको छ । सोही क्रममा आइपर्ने घटनाक्रमहरू प्रमुख रूपमा उठान गरिएको छ भने पारिवारिक तथा सामाजिक व्यवधानहरू समेत ट्रेलरमा देखिन्छ ।

ट्रेलरमा केही थ्रिल तथा हरर दृश्यहरू समेटिएका छन् । निर्देशक अरुण लामाले भने , ‘ यो कथा पूर्णतया सामाजिक हो र कहीँ न कहीँ सबैको जीवनसँग मेल खान्छ ।” यसअघि ‘डोरी’का पोस्टरहरू सार्वजनिक गरिएको थियो, जसले चलचित्र थ्रिलर तथा हरर श्रेणीको हुनसक्ने सङ्केत दिइएको थियो ।
‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । चलचित्रमा अरुण आफैँले प्रमुख भूमिका निभाएका छन् भने प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, बिरेन्द्र सिंह कुशवाहा लगायतका कलाकारहरूको पनि प्रमुख भूमिका रहेको छ ।
चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् । चलचित्रको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् भने मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, कला निर्देशक रोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ, रङ्ग संयोजक रेनीश फागो रहेका छन् ।