प्रदर्शनको दोश्रो सातामा ‘होस्टेल ३’, बिहीबार मध्यपूर्वका देशहरूमा रिलिज


गत शुक्रवार देखि प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल ३’ प्रदर्शनको दोश्रो सातामा प्रवेश गरेको छ। दर्शकका राम्रो साथ पाएर नेपालका हलहरूमा चलिरहेको चलचित्र ‘होस्टेल ३’ ले दोस्रो हप्ताको सङ्घारमा पनि व्यापक शो प्राप्त गरेको छ । फागु पूर्णिमाको अवसर पार्दै रिलिज भएका दुई नयाँ नेपाली चलचित्रहरू ‘अञ्जिला’ र ‘आउटल: दफा २१९’ सँग बराबरी शो प्राप्त गरेको छ ।

बुधवार साँझ सम्म हाउस फुल दर्शकका साथ प्रदर्शन भइरहेको ‘होस्टेल ३’लाई अत्यधिक रुचाइएको छ । कलाकारहरूसहित निरन्तर हलमा दर्शक भेट्न पुगिरहेका यसका निर्देशक सशान कँडेलका अनुसार तीन पटकसम्म चलचित्र हेर्न आएका दर्शकहरू भेटिएका छन् । उनका अनुसार ‘वर्ड अफ माउथ’ सकारात्मक भएका कारण चलचित्रलाई यो सफलता प्राप्त भएको हो । हल पुगेका दर्शकहरूले कलाकारहरूलाई बोकेर नचाइरहेका छन् । अपेक्षा गरिएको भन्दा निकै राम्रो रहेको भन्दै पूर्ण मनोरञ्जन प्राप्त गरेको प्रतिक्रिया दर्शकबाट प्राप्त छ ।

‘नन होलिडे’ रिलिजमा समेत दर्शकहरू हलमा उर्लिएका छन् । युवा पुस्तालाई लक्षित यो चलचित्रले नेपाली चलचित्रका मुख्य दर्शक वर्गलाई आकर्षित गरेको छ । डिजिटल युगका लोकप्रिय अनुहारहरूले अभिनय गरेको यस चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ । प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन् । आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन् ।

यसै गरी, ‘होस्टेल ३’ बिहीबारदेखि मध्यपूर्वका देशहरू संयुक्त अरब इमिरेट्स, कतार र बहराइनमा पनि प्रदर्शनमा आएको छ । व्यापक शोसहित प्रदर्शनमा आएको यो चलचित्र रिलिजको लागि यसका कलाकार पदम तामाङ कतार पुगेका छन् । मध्यपूर्वका वितरक आशिष पुरुषका अनुसार त्यहाँ यसको व्यापक माग भएको छ ।

माधव शर्माले पटकथा तथा संवाद लेखेका हुन् भने उनी एसोसियट निर्देशक पनि हुन् । चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शङ्कर कोइराला कार्यकारी निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्