‘परालको आगो’ मा प्रकाश सपुत अनुबन्धित


कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’ मा आधारित रहेर निर्माण हुने चलचित्र ‘परालको आगो’ मा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । चलचित्र निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले प्रकाशलाई चलचित्रमा अनुबन्ध गरेका हुन् । मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई चलचित्र निर्माणको मञ्जुरी दिइसकेको छ । ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ ।

निर्माता पोखरेलका अनुसार प्रकाश चलचित्रका प्रमुख दुई पात्रमध्ये एक हुन् । यसअघि प्रमुख कलाकारका रुपमा जितु नेपाल र सुहाना थापा अनुबन्धित भइसकेका छन् । निर्माता पोखरेलले चामे,गौंथली र जुठे दमाईको वरिपरि घुम्ने कथामा जितु र प्रकाशको क्यारेक्टर चामे र जुठे दमाई मध्ये कुन भन्ने चाहिँ अहिले सस्पेन्समा नै राखेको बताए ।


चलचित्रमा सुशील देवकोटाको लेखन, संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, सत्य–स्वरुपराज आचार्यको संगीत हुनेछ । निर्माता पोखेलका अनुसार चलचित्रको प्रदर्शन २०८२ मा हुनेछ । कथा ‘परालको आगो’ मा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ ।
निर्माता पोखरेलले यसअघि फिल्महरु ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘लभ सभ’, ‘राधे’ र ‘यात्रा’ निर्माण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्