‘प्रदीपलाई फरक अवतारमा हेर्ने दर्शकको चाहनालाई पिताम्बरले पुरा गरिदिनेछ’- निर्देशक कृषा चौलागाई


चलचित्र निर्माण हुँदै निर्देशनमा होमिएकी कृषा चौलागाईको नाम नेपाली चलचित्र क्षेत्रमा दरिलो रहेको छ। निर्माणमा सफलता हासिल गर्दै ‘एैचो पैचो’ मार्फत चलचित्र निर्देशनमा होमिएकी थिइन्। उनको दोश्रो निर्देशकीय चलचित्र ‘पिताम्बर’ रिलिजको संघारमा रहेको छ। मल्टिस्टारर चलचित्रलाई लिएर उनको उत्साह बेग्लै रहेको छ । उनको करियरका लागी पनि यो महत्वपूर्ण चलचित्र रहेको छ। कृषाले ‘एैचो पैचो’ निर्देशन भन्दा अगाडी चलचित्र चलचित्रको कन्सेप्ट बनाएको बताएकी छिन्।

‘पिताम्बर लार्ज स्केलको चलचित्र भएर पहिला सिम्पल फर्म्याटको ‘एैचो पैचो’ नै गर्छु भन्ने निर्णय लिएँ । ‘एैचो पैचो’ पहिलो निर्देशकीय चलचित्र भएकाले दर्शक र चलचित्रकर्मी बाट कस्तो प्रतिक्रिया पाउँछु भन्ने थियो । सबैले एप्रिसियट गरेपछि मात्र मैले पिताम्बरका लागि विभिन्न लेखकसँग बसेर स्क्रिप्टको डिजाइन गरेंं’, कृषा भन्छिन् ।

कृषाले चलचित्रलाई पूर्ण एक्सन जनारमा निर्माण गरेकी छिन्। बीचको समयमा एक्सन चलचित्र कम आइरहँदा आफ्नो चलचित्रमा दर्शकले केही फरक पाउने उनको बुझाई छ । ‘एक्सन चलचित्रमा खर्च र समय धेरै लाग्छ । यस्तो चलचित्रमा मान्छेले रिस्क लिन चाहँदैन’, कृषा भन्छिन्, ‘यो प्रदीप खड्काका लागि पनि नयाँ हो । प्रदीपलाई फरक अवतारमा हेर्न चाहने दर्शकको चाहनालाई पिताम्बरले पुरा गरिदिनेछ । किनकी प्रदीपलाई फूल्ली एक्सनमा हेर्ने दर्शकको रहरलाई पिताम्बरले पूर्णता दिन्छ ।’

मौलिक कथामा चलचित्र बनिरहेको बेलामा कृषाले वियोण्ड द इमाजिन चलचित्र बनोस भन्ने उदेश्यले चलचित्र बनाएकी हुन्। कृषाको बुझाइमा यस्ता चलचित्रमा मेकर स्वतन्त्र हुन्छ र मास अडीयन्सलाई हालसम्म तान्न सक्छ। पिताम्बर त्यस्तै चलचित्र बनेको र हलमा दर्शकको त्यस्तै उपस्थिति हुने कृषाको विश्वास रहेको छ। ‘अहिले सिठी बज्ने, ताली बज्ने, हुटिङ आउने चलचित्र छैन । पिताम्बर हेरेपछि दर्शकले पीडा भूलेर मजा बोकेर घर आउँछन् । पिताम्बरले दर्शकलाई मजा दिन्छ’, कृषा खुल्छिन् ।

‘पिताम्बर’ पूर्ण रुपमा इन्टरटेनिङ चलचित्र भएकाले दर्शकले काटेको टिकट र छुट्याएको समय खेर नजाने उनी ठोकुवा गर्छिन् । ‘दर्शकले एउटा टिकटमा ३,४ जना हिरोले अभिनय गरेको चलचित्र हेर्न पाउनुहुन्छ । पिताम्बरमा नेपालमै पहिलोपटक तीनवटा क्यामराले खिचेका छौं । बाहिरबाट धेरै प्राविधिक सामान ल्याएका छौं । मेकिङका हिसाबले पनि यो चलचित्र कस्तो बनेको रहेछ भन्ने दर्शकमा चासो भइरहेको छ । चलचित्रले दर्शकलाई कनेक्ट नै गर्छ’ उनी भन्छिन् ।

कृषाले ‘पिताम्बर’को अवधारणा दिमागमा खेलाइरहँदा उनले अभिनेता प्रदीप खड्कालाई नै सम्झिएकी रहिछन् । उनलाई अलिकति आर्यन लुक्स, हल्का दाह्रीजुँगा भएको र राम्रो काम गर्न सक्ने कलाकार चाहिएको थियो । यो तिनवटै गुण उनले प्रदीपमा भेटिन् । ‘हाम्रो कथा नै स्टारबाट सुरु हुन्छ । त्यसकारण दर्शकको मन मुटुमा बसेको र राम्रो अभिनयका कारण चर्चामा आएका कलाकारलाई नै प्राथमिकता दियौं । कलाकारको परफर्मेन्स भन्दा पनि कोही भन्दा कोही कम नदेखिऊन् भनेर मल्टीस्टार लियौं । तीन प्रमुख कलाकार निश्चित थिए । चलचित्र बन्दै गएपछि अन्य कलाकारहरु पनि जोडिनुभयो’, कृषा भन्छिन् ।

कृषाले प्रदीपका लागि एक्सन कोचको व्यवस्था गराएकी रहिछन् । ‘एक्सन चलचित्र भन्ने बित्तिकै सिक्स प्याक भन्ने हुन्छ । तर तपाईं हाम्रो घरमा कसैलाई केही पर्यो भने सिक्स प्याक छैन भन्दैमा बदला नलिने त हुँदैन नि । हाम्रो रगत नतातिने त हुँदैन नि । एउटा भुइँमान्छेलाई केही समस्या पर्यो भने त्यसलाई कसरी व्यक्त गर्छ भन्ने हो । मैले प्रदीपलाई एक्सनका लागि सिक्स प्याक बनाउनु पर्दैन । तर तिमीले फाइटमा आफूलाई एग्रेसिभ बनाउन फाइट तालिम लिनुपर्छ भनेर ट्रेनर राखेको थिएँ’, उनी भन्छिन् ।

कृषाको अनुभवमा ‘पिताम्बर’ उनका लागि ‘तपस्या’ हो । टिजर र गीतबाट प्राप्त प्रतिक्रियाले पुलकित कृषा अब ट्रेलर सार्वजनिक गर्ने तयारीमा छिन् । ‘दर्शकले ट्रेलर हेरेपछि यो चलचित्र हेर्छु भन्ने निर्णय लिनुहुन्छ भन्नेमा म ढुक्क छु’, उनी भन्छिन् ।

प्रतिक्रिया दिनुहोस्