युएई र बहराइनमा सेन्सरले रोक्यो ‘दु:खी आत्मा’, कतारमा प्रदर्शन हुँदै


नेपालमा शुक्रबारबाट रिलिज भएको चलचित्र ‘दुखी आत्मा’ ले सकारात्मक प्रतिक्रिया पाइरहेको छ। यौन दुर्वल्ताको कथामा निर्माण भएको चलचित्र रमाइलो प्रस्तुती दर्शकले मन पराइरहेका छन्। नेपालसंगै विदेशमा पनि चलचित्र रिलिजको तयारीमा रहेको छ। तर युएईका दर्शकले भने चलचित्र हेर्न नपाउने भएका छन् । चलचित्रको सेन्सर युएईमा पास हुन सकेन। दुईपटकको कोसिसमा पनि चलचित्र को सेन्सर पास नभएको निर्देशक दिपेन्द्र लामाले जानकारी दिए।

पहिलो पटक चलचित्रको सेन्सर फेल भएपछि केही दृश्य काँटछाँट गर्न लगाइएको थियो । तर, दोस्रो पटक काँटछाँट गरेर सेन्सरमा लैजाँदा पनि फेल भएको निर्माणपक्षले बताएको छ । मिडिया कन्टेन्टको सिमारेखा भित्र नपरेका कारण चलचित्र युएइमा पास हुन नसकेको हो । युएइमा ‘युएइ मिडिया काउन्सिलले’ चलचित्र हेर्ने नियम छ । युएइमा सेन्सर पास नभएपछि बहराइनमा पनि रिलिज नहुने पक्का भएको छ । युएइकै सेन्सरको निर्णय बहराइनमा पनि लागू हुने भएका कारण यस्तो भएको हो । विना काँटछाँट चलचित्र कतारको सेन्सरबाट पास भएको हो । कतारमा शुक्रबारबाट नै चलचित्र लागिरहेको छ ।

दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेअर राई लगायतका कलाकारहरुले अभिनय गरेको यो चलचित्रले ‘इडी’ रोग लागेका पुरुषहरुको कथा भन्छ । हिमाल कडरिया निर्माता रहेको चलचित्रमा सुदिप ढकाल कार्यकारी निर्माता छन् ।

प्रतिक्रिया दिनुहोस्