सकियो ‘बलिदान’ छायांकन, दशैंमा रिलिज तयारी !


चलचित्र निर्माणमा क्यानभास ठुलो बनाएर काम गर्ने निर्माता निर्देशकमा पहिलो नम्बरमा आउछन्, सन्तोष शेन। १ महिना देखि धेरैमा २ महिनासम्म नेपाली चलचित्रको सुटिङ्ग सेड्युल चल्ने गर्दछ। तर सन्तोषले चलचित्र ‘बलिदान’ को छायांकन सक्न १ सय २० दिन भन्दा बढी समय लगाएका छन्।

भदौ २२ गते पहिलो चरणको छायांकन सुरु गरेको चलचित्र दशैं र तिहारको समयमा एक महिना जति रोकिएको थियो। मङ्सिर ७ गतेबाट दोश्रो चरणको सुटिङ्ग सुरुवात गरेको चलचित्रले शुक्रबार मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानमा अन्तिम सट खिच्दै सुटिङ्ग प्याकअप गरेको हो। अभिनेता समीर भट्ट र अभिनेत्री ऋचा शर्माले अन्तिम दृश्य दिएका थिए । सुटिङ्ग सम्पन्न भएपछी निर्देशक सेनले ‘महान चलचित्र’ बनाउन कुनै कसर नछाडेको बताएका छन्।

चलचित्रको टिमले चाडै नै टिजर मार्फत प्रदर्शन मिति घोषणा गर्नेछ। चलचित्र दशैँमा रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको बुझिएको छ। एक्सन कथामा निर्माण भएको चलचित्रमा समिर भट्ट, ऋचा शर्मा, सौगात मल्ल, अर्पण थापा, दिव्य देव, कामेश्वर चौरसिया लगायतको अभिनय छ ।

‘बलिदान’मा दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामले एक्सन दृश्य कोरियोग्राफी गरेका छन् । चलचित्रमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह-निर्मातामा रहेका छन् । ७ करोड माथी लगानी पुगेको बताइएको चलचित्रको पर्खाई दर्शकलाई व्यापक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्