सुहाना थापापछि ‘परालको आगो’ मा जोडिए जितू नेपाल
कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’ मा आधारित रहेर निर्माण हुने चलचित्र ‘परालको आगो’मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन् । निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले जितुलाई चलचित्रमा अनुबन्ध गरेका हुन् । मैनाली कथा पुरस्कार ट्रस्टले केही महिनाअघि हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई चलचित्र निर्माणको मञ्जुरी दिइसकेको छ । ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ ।

निर्माता पोखरेलका अनुसार जितु चलचित्रका प्रमुख दुई पात्रमध्ये एक हुन् । ‘अर्को प्रमुख पात्र पनि चाँडै फाइनल हुनेछ । यसबाहेक सेकेण्ड लिडका लागि अर्की एक महिला पनि फाइनल हुँदैछिन्’, निर्माता पोखरेलले भने, ‘चामे,गौंथली र जुठे दमाईको वरिपरि घुम्ने कथामा जितुको क्यारेक्टर चामे र जुठे दमाईमध्ये कुन भन्ने चाहिँ अहिले सस्पेन्समा नै राखेका छौं । चलचित्रमा यसअघि नै अभिनेत्री सुहाना थापा फाइनल भइसकेकी छन् । निर्माता पोखेलका अनुसार चलचित्रको प्रदर्शन २०८२ मा हुनेछ । चलचित्रमा निर्देशक लक्ष्मण सुनारको निर्देशन रहने छ । कथा ‘परालको आगो’ मा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ ।