‘दुःखी आत्मा’बारे दया–‘यौन स्वास्थ्यको कथा भन्न जरुरी छ’


फागुनको २ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘दुखी आत्मा’को टिजर, ब्रेकअप कविता र ट्रेलरको चर्चा उच्च छ । चलचित्रको प्रचार सामाग्री हेरेपछि यसलाई लिएर मानिसहरुको आ–आफ्नै तर्क सुन्ने गरिन्छ । कतिपयले नायक दयाहाङ राइलाई यस्तो कथामा चलचित्र किन गरेको पनि भने । कतिपयले दयाले बल्ल फरक कथामा चलचित्र खेलेछन् पनि भनेका छन् । विभिन्न कोणबाट यो चलचित्रको ट्रेलरलाई लिएर प्रतिक्रिया आएका छन् ।


दया भन्छन्–‘मानसिक स्वास्थ्यको बिषयमा पनि हामी बल्ल बल्ल खुल्न थालेका छौं । हाम्रो परिवारका सदस्यहरु बल्ल स्वास्थ्य सम्बन्धी बिषयमा कुरा गर्न थालेका छन् । यौन त हाम्रो निजी कुरा हो । यो कुरालाई हामीले गोप्य राख्छौं । तर, यो चासोको बिषय भने हो । भारतमा पनि ४० वर्ष अगाडि मात्र चलचित्रमा यस्तो कथा भन्न थालिएको हो । यो बिषयमा मानिसहरुलाई जानकारी हुनुपर्छ भन्ने मलाई लाग्छ । छलफल कोसँग गर्ने भन्ने आफ्नो ठाउँमा होला ।


दयाले यो चलचित्रमा काम गर्दै गर्दा यो चिजले अप्ठ्यारो पार्ला, गाह्रो पार्ला भन्ने आफ्नो दिमागमा नभएको पनि बताएका छन् । उनी अगाडि भन्छन्–‘साथीहरुले यस्तो चलचित्र किन खेलेको भन्नुहुन्छ । खेल्दा कस्तो लाग्यो पनि भन्नुहुन्छ । तर, मलाई त कस्तो पनि लागेन भन्छु । एउटा कलाकारले यो चिज गर्नुहुन्छ या गर्नुहुँदैन भन्ने व्यक्तिगत सोच हो । मेरो चलचित्र पहिले स–परिवार हेर्न जानुहुन्थ्यो । यसपटक अलग–अलग भएर जानुपर्छ । यसो गर्दा सहज हुन्छ पनि ।’


दयाले एउटा सुन्दर समाज हुनका लागि स्वास्थ्य समाज हुनुपर्ने तर्क गरे । ‘यसैले, मलाई यो कथा पनि भन्नुपर्छ भन्ने लागेर खेलेको हो । चलचित्रको टिजर आउँदा मेरो केही असहमति थियो । किनकी, यो चलचित्रले जे बिषयवस्तु उठान गरेको छ त्यो टिजरमा देखाइएको कुरा मात्र होइन । त्यहाँ पुरा पुरा संवाद राखिएको छ । तर, यसको कथावस्तु भन्नुपर्ने बिषय हो ।’ दयाले भने । अहिले चलचित्रको बिषयवस्तुलाई लिएर प्रश्न आउँदा भने काम गर्नु अगाडि विभिन्न कोणबाट सोच्नुपर्ने रहेछ भन्ने लागेको दयाले बताए । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ लगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्