‘मायाबी मेरो दोश्रो सन्तान हो’- दिपिका प्रसाई
नायिका दीपिका प्रसाँइले ‘मायाबी’ आफ्नो सपना भएको बताएकी छिन् । केही बर्षको अन्तरालपछि चलचित्रको पर्दामा फर्किन लागेकी दीपिकाले यो चलचित्र आफ्ना लागि विशेष भएको बताइन् ।
मिडियासँगको कुराकानीमा दीपिकाले भनिन्–‘यो प्रोजेक्ट ५ बर्ष अगाडि देखिको यात्रा हो । यो प्रोजेक्ट सुरु भएपछि मात्र म गर्भवती भएको थाहा पाएँ । त्यो अवस्थामा मैले कि त सन्तान कि त चलचित्र रोज्नुपर्ने अवस्था थियो । तर, मैले भगवानको नाम पुकारेर दुबैलाई जिताउनुपर्छ भने अगाडि बढेँ । चलचित्रको छायांकनका क्रममा निकै नै दुख पाएको थिएँ । तर, अहिले दर्शकको उत्साह देख्दा खुशी लाग्छ ।’
दीपिकाले चलचित्र छायांकनको क्रममा आफूले एउटा कुरा गुमाउने अवस्था रहेको समेत बताइन् । उनले अगाडि भनिन्–‘मैले निर्देशक दिवाकर भट्टराइलाई अब यो चलचित्र म गर्न सक्दिनँ समेत भनेको थिएँ । अन्य नायिका लिनुहोस् चलचित्रमा पनि भनेँ मैले । तर, मलाई उहाँले हरेक शब्दमा तिमी छौं, अरुलाई सोच्न सक्दिनँ भन्नुभयो । यसैले मैले यो चलचित्र गर्नुपर्यो ।’
दीपिकाले ‘मायाबी’ आफ्नो दोस्रो सन्तान भएको समेत बताइन् ।
यो ‘पागलपन’ कसको थियो, दीपिका भन्छिन्–‘यो देख्दा निर्देशककै पागलपन देखिन्छ । साथमा, हाम्रो र टिमको पनि पागलपन हो । यसैले, त यो चलचित्र हलसम्म आउन सकेको छ ।’ दीपिकाले ‘मायाबी’लाई ‘प्रेमको पागलपन’को कथा भनेकी छिन् । उनले, बाहिरी ब्यानरका वा घरका चलचित्रमा काम गर्न आफूलाई कुनै पनि समस्या नभएको बताइन् । अब, निरन्तर चलचित्र क्षेत्रमा लाग्ने उनको भनाई छ । ‘मायाबी’को अर्थ के हो, दीपिकाले भनिन्–‘चलचित्रमा अनेकौं तरिकाले मायाबी देख्न सकिन्छ । मायाबीको अर्थ सामान्य रुपमा मायाजालको रुपमा वुझिन्छ । तर, यो चलचित्रमा भने मायाबी भनेको आकर्षण हो भनेर देखाइएको छ ।’
ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी रहेको यो चलचित्रमा प्रविण भट्टराई र करण सिंह कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रमा मञ्जु भण्डारी, राजु पराजुली र सुमित वली सह–निर्माताको रुपमा छन् । फागुनको १४ गतेबाट यो चलचित्र दर्शकमाझ आउँदैछ ।
दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रमा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ, समिम खान लगायतका कलाकारहरुको अभिनय छ ।