इन्द्रकला राईको स्वरमा ‘ताण्डवम्’ को पहिलो गीत हिमानी
महाशिवरात्रीको पूर्वसन्ध्या पारेर आगामी फागुन ९ गतेबाट रिलिज हुने चलचित्र ‘ताण्डवम्’ को पहिलो गीत हिमानी (ए सानु) रिलिज भएको छ । केही दिनअघि सार्वजनिक गरिएको चलचित्र को टिजरलाई दर्शकले मन पराएसँगै मंगलबार चलचित्र का मुख्य कलाकार जुनिम गहतराज र सरिना मगर फिचर्ड गीत रिलिज गरिएको हो ।
सुशान्त गौतमको शब्द रचना तथा संगीत रहेको गीतमा इन्द्रकला राईको स्वर छ । गायिका राई पछिल्लो समय ‘भ्वाइस अफ नेपालको सिजन ६’ मा सहभागी भएसँगै चर्चामा छिन् ।
क्लरिष्ट जुनिम गहतराजको डेव्यु निर्देशनमा निर्माण भएको चलचित्रमा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ । चलचित्रले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।
सिंहदेवी प्रोडक्सनले भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको चलचित्रका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको चलचित्रमा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । चलचित्रको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।