‘वरिष्ठ बलराम’ मा दयाहाङ राई र विजय बराल
सुरेन्द्र पौडेलको निर्देशनमा तयार हुने नयाँ चलचित्र ‘वरिष्ठ बलराम’ को औपचारिक घोषणा भएको छ । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर पारेर पौडेलले सोमबार चलचित्रको औपचारिक घोषणा गरेका हुन्। फागुनको पहिलो साताबाट छायाङ्कनमा जाने तयारीमा रहेको चलचित्रमा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा रहनेछन्।
२०८२ सालमा प्रदर्शन गर्ने लक्ष्य राखिएको चलचित्रको अन्य कलाकारको बारेमा जानकारी गराइएको छैन। केही दिनमै सार्वजनिक गरिने टिजरमार्फत थप कलाकारको नाम सार्वजनिक गर्ने योजना निर्माण टिमको छ। चलचित्रको छायाङ्कन तराईका विभिन्न स्थानमा गरिनेछ। ‘वरिष्ठ बलराम’ वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको हो।