‘कर्मा’को पहिलो चरणको छायांकन सम्पन्न, चैत्र २९ मा रिलिज हुँदै


निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘कर्मा’को पहिलो चरणको छायांकन सम्पन्न भएको छ । गत मंसिरको अन्तिम साताबाट सुरु भएको चलचित्रको छायांकन दाङ र आसपासका विभिन्न स्थानमा करिब ४६ दिन लगाएर पूरा गरिएको छ । अब, चलचित्रको टिम काठमाडौंमा केन्द्रित भएको छ । निर्देशक चौधरीका अनुसार आगामी १० दिनभित्र सम्पूर्ण सुटिङ सम्पन्न गरिनेछ ।

‘कर्मा’को छायांकन चरणमै सम्पादन र भिएफएक्सको काम समेत भइरहेको छ । निर्देशक चौधरीले भने, “हामीले दिनरात नभनी अत्यन्तै मेहनतका साथ काम गरिरहेका छौँ । अबको दुई सातामा छायांकन पूरा हुनेछ, त्यसपछि पोस्ट-प्रोडक्सनको कामलाई तीव्रता दिनेछौँ । अहिलेसम्म कुनै बाधा-अड्चन बिना छायांकन सम्पन्न भइरहेको छ ।”

यसबीच, पूर्वघोषित मितिमा चलचित्र प्रदर्शन नहुने भन्ने हल्लाको खण्डन गर्दै उनले भने, “गलत हल्लामा नलाग्न दर्शकलाई अनुरोध गर्दछौं । काम तीव्र गतिमा अगाडि बढिरहेको छ, हामी पूर्व निर्धारित मिति चैत्र २९ गते नै चलचित्र रिलिज गर्नेछौं ।”

‘कर्मा’ मा अभिनेता विपिन कार्की, अभिनेत्री उपासना सिंह ठकुरी, कलाकार मुकुन भुसाल र दिव्यदेव पन्त मुख्य भूमिकामा रहेका छन् । विपिन र उपासना पहिलो पटक सहकार्य गर्दैछन् भने मुकुन भुसाल नेगेटिभ भूमिकामा प्रस्तुत हुनेछन् । एक्सन ड्रामा जनरामा निर्माण भइरहेको ‘कर्मा’ को कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् । चौधरीका अनुसार अभिनेता विपिन कार्की पहिलो पटक एक्सन अवतारमा देखिन लागेका छन् ।

आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने चलचित्र ‘कर्मा’ लाई बसन्त लम्सालले निर्माण गरिरहेका छन् । यो चलचित्रको छायांकन सुरु हुनु अगावै ‘कर्मा’ ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गरिसकेको छ । सेभेन सिज सिनेमाले चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार लिएको छ । चलचित्रको छायांकन संजय लामाले गरिरहेका छन् । चलचित्र ‘कर्मा’ नयाँ वर्षको अवसर पारेर चैत्र २९ गते प्रदर्शनमा आउने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्