‘वसन्त’ लाई लिएर प्रकाशको भावुकता: ‘केहि माया लाग्दा र जरुरी सम्बन्धहरु खोसेको छ।’
गायन र अभिनयमा आफुलाई सफल सावित गरिसकेका प्रकाश सपुतले म्युजिक भिडियो निर्देशनमा पनि आफुलाई प्रमाणित गरिसकेका छन्। लगातार सफलताको स्वाद चाखिरहेका सपुतको करियर यतिबेला सर्वाधिक सफल अवस्थामा रहेको छ। उनका सृजनाहरु दर्शकको मनमा बस्छन्, कन्सर्टमा हजारौ दर्शकको भीड हुन्छ। चलचित्र अभिनयमा डेव्यु चलचित्रमा नै सफलता हासिल गरे। उनै सपुत यतिबेला चलचित्र निर्माण र निर्देशनमा होमिएका छन्। चैत्र २२ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘वसन्त’ मा उनको प्रमुख भूमिका संगै निर्देशनको जिम्मेवारी पनि रहेको छ।

यहि चलचित्रको नयाँ पोष्टर सार्वजनिक भएको छ। चलचित्र रिलिज अगाडीका घोषणा पोष्टर पछिको यो पहिलो अफिसियल पोष्टर हो। यो पोष्टर सार्वजनिक गर्दै उनले आफुले चलचित्रको दौरान धेरै कुरा गुमाएको उल्लेख गरेका छन्। उनले यो दौरान आफुले केहि माया लाग्दा र जरुरि सम्बन्ध गुमाएको उल्लेख गरेका छन्। त्यस्तै स्टेज र दर्शकको अभाव अनुभूति उनले गरिरहेका छन्।
सपुत लेख्छन्, ‘बसन्त निर्माणका क्रममा समय ले म बाट धेरै कुरा खोसेको छ । संगित बाट कमाएका केहि साथीभाई, शुभेच्छुक खोसेको छ ! केहि माया लाग्दा र जरुरी सम्बन्धहरु खोसेको छ । मैले मन्दिर जत्तिकै मान्ने स्टेजहरु खोसेको छ ! भगवान जस्तै मान्ने दर्शकहरु खोसेको छ । जिवनमा रंग भर्ने यात्राहरु खोसेको छ ! र सबै भन्दा महत्वपुर्ण योजना विपरित बिचमा एउटा चलचित्रको प्रदशनमा मैले समय दिन नपाएपछि केहि शुभेच्छुकहरुको नजरबाट मेरो ईमान खोसेको छ । यसबाहेक भोक खोसेको छ ! निद्रा खोसेको छ र म भित्रको एक शान्त मानिस खोसेको छ ! तर एक बारको जुनिमा आफ्नै सपनाको यो हद छोएको मा म दंगदास छु । उसै पनि मलाई विश्वास छ ‘बसन्त’मार्फत नै समय ले खोसिएका सबै फेरी फिर्ता दिनेछ !
मैले “बसन्त” मा म भित्रका सबै रंगहरु पोखेको छु । यदि बसन्त तपाईलाई बबाल लाग्यो भने, म बबाल हु । यदि लागेन भने पनि मेरो प्रतिभाको दायरा यत्ति नै हो । मेरो सिमितता यहि सम्म हो ! मैले यहा भन्दा थप केहि जान्दिन । यसो भनौ, म यो जन्मका लागी जम्मा जम्मि यत्तिनै हु ! बसन्त जत्ति !
अब बाकि कर्महरु यसकै निरन्तरता हुनेछन । लेखन, सिर्जना, गायन, अभिनय, निर्देशन, निर्माण, जिवनमा अगाडि जुन कर्म गरे पनि त्यो बसन्तकै एउटा रंग हुनेछ ! किनकि यो जन्मका लागी म जम्मा जम्मि यत्तिनै हु ! बसन्त जत्ति..
अनि सुन्नुस न , हुनत बल्ल शिशिर रितु शुरु हुदैछ तर हामीलाई बसन्त लागिसक्यो । अर्को हप्ता देखि एक-एक थुंगा लालिगुराँस तपाईलाई सप्रेम उपहार पठाउदैछौ । चैत्र २२ ( April 4)को निम्तो सम्झेर स्विकार्दै जानु होला है। ‘
तर वसन्तले उनका गुमेका सवै कुरा पूर्ण हुनेमा उनको विस्वास पनि देखिन्छ। चलचित्रमा उनी संगै स्वस्तिमा खडका मुख्य भूमिकामा रहेकी छिन्। प्रकाश घिमिरे, प्रभात पल ठकुरी, खड्क बहादुर पुन लगायतका कलाकारको अभिनय चलचित्रमा देख्न सकिन्छ। उनका आमा सृजना जस्तै यसले पनि समाजको जातीय व्यवस्थाले पारेको प्रभावको कथा बोकेको छ ।