सौगात मल्लको ‘बमबहादुर’ रिलिज


सौगात मल्ल प्रमुख भूमिकामा रहेको चलचित्र ‘बम बहादुर’ आजबाट नेपालभर प्रदर्शनमा आएको छ । चलचित्रले विशेष गरी भारतको दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको ऐतिहासिक सङ्घर्ष र जीवनका पलहरूलाई पर्दामा उतारेको छ ।

१९८० को दशक, अर्थात् आजभन्दा करिब ३८ वर्षअघि भएका घटनाहरूमा आधारित यो चलचित्रले त्यति बेलाको सामाजिक र राजनीतिक पृष्ठभूमिलाई चित्रण गर्दै भारतीय नेपाली समुदायले भोगेको सङ्घर्षलाई सजीव रूपमा प्रस्तुत गरेको छ । निर्देशक जोन राईका अनुसार, यो चलचित्र भारतका नेपाली समुदायको इतिहासलाई डिजिटल दस्ताबेजको रूपमा संरक्षित गर्ने उद्देश्यले निर्माण गरिएको हो ।

बिस्ट ब्रदर्स फिल्म्स प्रा.लि.को निर्माणमा बनेको ‘बम बहादुर’का निर्माता सञ्जीव सार्कीले आजका र भोलिका पुस्ताले आफ्नो इतिहास बिर्सिन नहुने उद्देश्यले यो चलचित्र निर्माण गरेको बताए । चलचित्रमा सौगतासंगै प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिष्ट कार्की, सुरेश पन्चकोटी, प्रभात पाख्रिन, बादल क्षेत्री, र धीरज चाम्लिङ लगायतको अभिनय रहेको छ ।

चलचित्रको कथा र पटकथा जोन राई र रुपेश तामाङले लेखेका हुन् । निर्देशक राईका अनुसार, यो चलचित्र नेपाली समुदायको ऐतिहासिक र सांस्कृतिक महत्वलाई बुझेका दर्शकहरूको लागि मात्र होइन, भारत र नेपालका युवा पुस्तालाई आफ्नो पहिचान र इतिहासबारे जानकारी दिन पनि महत्त्वपूर्ण छ । चलचित्रले नेपाली समुदायको संघर्ष र पहिचानको कथा सम्झनामा सुरक्षित राख्ने उद्देश्य बोकेको छ ।

प्रतिक्रिया दिनुहोस्