आइतबारबाट छायांकनमा जादै ‘डोरी’, अर्को बर्ष रिलिजको तयारी
नेपाली चलचित्र ‘डोरी’को शुभ मुहूर्त बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा गरिएको छ। आइतबारदेखि छायाङ्कनमा जाने चलचित्रको क्यामेरा तथा स्क्रिप्ट पूजा गरिएको छ। मुहूर्त कार्यक्रममा चलचित्रका प्रमुख कलाकार र टिमका सदस्यहरूको उपस्थिति रहेको थियो ।
प्रवीण खतिवडा, अञ्जना बराइली, शिशिर बाङ्गदेल, राज पौडेल, वीरेन्द्र सिंह कुशवाहा, विशाल राई, मिलन राई, र नूतन लगायतका कलाकारको उपस्थिति रहेको थियो । निर्देशक अरुण लामा, कार्यकारी निर्माता राज थापा, छायाकार सौरभ लामा, र सङ्गीतकार राजनराज सिवाकोटी लगायतका टिमका मुख्य सदस्यहरूको पनि सहभागिता रह्यो ।
‘डोरी’ एक सामाजिक, रहस्यमय, र सस्पेन्सले भरिएको चलचित्र हो, जसले समाजको यथार्थतालाई प्रस्ट्याउने प्रयास गर्नेछ । निर्देशकका अनुसार, चलचित्रको कथाले दर्शकलाई सोच्न बाध्य बनाउनेछ । रहस्यमय घटनाक्रम र सन्देशमूलक कथाले सबै वर्गका दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
चलचित्रको लेखन निर्देशक अरुण लामाले नै गरेका छन् भने यसका निर्माता दिनेश भट्टराई हुन् र कार्यकारी निर्माता राज थापा रहेका छन् । यसमा सङ्गीत राजनराज सिवाकोटी, सिनेमाटोग्राफी सौरभ लामा र एक्सन निर्देशन राजु तामाङले गर्नेछन् । ‘डोरी’ आगामी वर्ष सन् २०२५ मा रिलिज लक्ष्य राखिएको छ ।