३० करोडको नजिक ‘पूर्णबहादुरको सारंगी’, रेकर्डमय कमाईको बीचमा चोरीको आरोप झेल्दै
चलचित्र इतिहासमा रेकर्ड बन्ने र तोडिने सामान्य कुरा बनिसकेको छ। डबल डिजिटको कमाई सफल चलचित्रका लागी अहिले सामान्य बिषय बनिरहेको छ। छक्का पन्जाले सर्वाधिक कमाई गरेको रेकर्ड कबड्डी ४ ले तोडेको थियो। केहि बर्ष अगाडी रिलिज चलचित्रले झन्डै २४ करोड (२३ करोड ५० लाख) बराबरको कमाइ गर्न सफल भएको थियो। निर्माताले दिएको यो लाइफटाइम कलेक्सनको आंकडालाई चलचित्र ‘पूर्ण वहादुरको सारंगी’ ले तोडेको छ। केहि दिन अगाडीमात्र अर्को चलचित्र ‘१२ गाउँ’ ले सबै रेकर्ड तोड्दै २५ करोड बराबरको कलेक्सन गरेको आँकडा बाहिरिए पनि यकिन र तथ्य परक आँकडा भने सार्वजनिक भएको छैन।
१३ दिनमा चलचित्र पूर्ण बहादुरको सारंगीले २५ करोड बराबरको कलेक्सन गरेको निर्माण टिमले जानकारी दिएको छ। नेपालबाट यति कलेक्सन गरेको चलचित्र देश बाहिरबाट जाँदै २० करोडको कलेक्सन गरेको चर्चा रहेको छ । २५ करोडको कलेक्सन डाटा सार्वजनिक भए पनि चलचित्र विकास बोर्डले बक्स अफिस रिपोर्ट सार्वजनिक गरेपछि मात्र यकिन कलेक्सन थाहा हुनेछ। बोर्डले केहि समयबाट बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छैन।
करिव डेढ करोडको लगानीमा बनेको चलचित्रले सर्वाधिक शो, एक दिनको कलेक्सन लगायतका हरेक रेकर्ड बनाएको आँकडा रहेको छ। रिलिजको तेश्रो सातामा पनि चलचित्र आकर्षक शो पाउने पक्का रहेको छ । लाइफटाइम कलेक्सन ३० करोड माथि पुग्ने अनुमान गरिएको छ। वर्षाको निर्मातालाई सर्वाधिक मुनाफा दिने चलचित्र बन्ने दौडमा चलचित्र रहेको छ।
सरोज पौडेलको निर्देशनमा तयार भएको चलचित्रले बाबु-छोराको कथा भन्छ। रिलिजको सुरुवाती दिनमा अकुपेन्सी नै राम्रो दिन नसकेको चलचित्रले यो यात्रा तय गर्नमा सामाजिक संजालको ठुलो भूमिका रहेको छ। टिकटक लगायतका प्लेटफर्ममा दर्शक रोएका भिडियो भाइरल भएपछि चलचित्रले व्यापारमा उछाल ल्याएको थियो।
चलचित्रमा विजय बराल, प्रकाश सपूत, अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ्ग लगायतको अभिनय छ ।
चोरीको आरोप झेल्दै
चलचित्रको रिलिजको केहि दिनसम्म चलचित्र चर्चा ठीकठाक थियो। तर जति चलचित्र हिट बन्दै गयो विवादको भुमरीमा पनि पर्दै गएको छ।
केहि दिन अगाडी एक उपन्यासकारले चलचित्रको मूल कथा आफ्नो उपन्याससंग मिलेको आरोप लगाएका थिए। २०२० मा बजारमा आएको उपन्यास ‘सङ्ग्रामपुर’ सँग मिलेको आरोप लेखक डा. शिव शंकर बस्यालले लगाएका थिए। उनले मिलेको प्लट सहित भन्दै लामो स्टाटस फेसबुकमा लेखेका थिए।
त्यस्तै अर्का लेखक तथा निर्देशक अजित लामिछानेले पनि चलचित्रलाई चोरीको आरोप लगाएका छन्। उनले केहि बर्ष अगाडी नै चलचित्र लेखक तथा निर्देशक पौडेललाई आफ्नो सर्ट मुभी ( जसलाई चलचित्र बनाउन लामो समयबाट कोसिस गरिरहेको) ‘ लाज’ को कथा सुनाएको र त्यसका धेरै प्लट मिलेको आरोप उनले लगाएका छन्। झन्डै ८/१० बर्ष अगाडी सर्ट मुभीले विभिन्न अवार्ड जितेको पनि उनले उल्लेख गरेका छन्।
अव चलचित्रको टिम बिशेष गरि लेखक निर्देशकले यो कुरालाई कसरी जवाफ दिनेछन् त्यो भने हेर्न बाँकि रहेको छ।