‘छक्का पन्जा’ टिम बाहिर लगातार चलचित्र गर्दै केदार घिमिरे
दिपकराज गिरी र दिपाश्री निरौलाको टीम आफ्नो बाहेक बाहिरी ब्यानरका चलचित्र बिरलै गर्ने गर्दछन्। बर्षभरि मिहेनत गरेर एक सुपरहिट चलचित्र दिने यो टिमको बर्षौ देखिको आदत हो। दिपक-दिपासंगै अहिले यो टिममा अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ मुख्य सदस्य रहेका छन्। केहि बर्ष अगाडीसम्म जितु नेपाल ‘मुन्द्रे’ यो टिमको मुख्य सदस्यको रुपमा रहेका थिए। तर जितू टिमबाट छुट्टिएर काम गर्न थालेको धेरै समय भयो ।
दिपक दिपालाई आफ्ना सदस्यलाई टिम बाहिर काम गर्न नदिने आरोप बेला बखतमा लाग्ने गर्दछ। तर राम्रो काममा आफुले नरोक्ने दुवैले बताउदै आएका छन् । कलाकारको आ-आफ्नो सोचाइ हुन्छ त्यो सोचाईमा कसैले लगाम लगाउन सक्दैन। त्यो केदारको हकमा पनि देखिएको छ। उनले ‘छक्का पन्जा’ टीम बाहिर लगातार चलचित्रमा काम गर्ने भएका छन्। उनले केहि महिना अगाडी दिपक मनाङ्गेको निर्माण र सम्राट बस्नेतको निर्देशनमा निर्माण हुने चलचित्र ‘कंगारु’ साइन गरेका थिए। यो चलचित्रमा जितु नेपाल देखि स्वस्तिमा खड्कासम्मको अभिनय रहनेछ।
उनी सरोज न्यौपानेको निर्माण र सुयोग गुरुङ्गको निर्देशनमा तयार भैरहेको चलचित्र ‘जेरी अन टप’ मा मुख्य भूमिकामा रहेका छन्। मल्टिस्टारर चलचित्रको सुटिङ्ग यतिबेला धमाधम भैरहेको छ। उनी ऋषि लामिछानेको निर्देशनमा तयार हुने चलचित्रमा पनि काम गर्ने चर्चा रहेको छ। केहि दिन अगाडी ऋषि सहित केदारको चलचित्र निर्मातासग तस्विर सार्वजनिक भएको थियो ।यसरी हेर्दा केदारको हातमा छक्का पन्जा टिम बाहिर तीन चलचित्र देखिएका छन्।