अनमोल, जसिता र आंचलले सुरु गरे ‘जेरी अन टप’ , माग्ने बुढासंगै जोडिए भुवन-विपना


अभिनेता अनमोल केसीको करियरको एउटा बलियो अनि सफल चलचित्र हो, ‘जेरी’। यो चलचित्रले उनलाई युवा दर्शक र फ्यान माझ पुग्न बलियो मद्दत गर्यो। चलचित्रको सुटिङ्ग स्थलमा जेरी गल्ली भनेर नामकरण नै गरिएको छ। यहि चलचित्रको टाइटल जोडेर अनमोल नै मुख्य भूमिकामा रहने गरि चलचित्र ‘जेरी अन टप’ निर्माण घोषणा भएको केहि समय भयो। चलचित्रको टीम यतिबेला सुटिङ्गमा निस्किएको छ।

सुटिङ्ग पुर्व कार्तिक १२ गते चलचित्रको बंगलामुखी मन्दिरमा शुभमुहर्त र पुजा आज गरिएको थियो। बलियो स्टारकाष्ट लिएर चलचित्रको सिंगो टिम नै पूजामा सहभागी भएको थियो। अनमोल केसी, जसिता गुरुङ्ग, आंचल शर्मा र केदार घिमिरे ‘माग्नेबुढा’ चलचित्रमा अनुबन्धित भएको खबर अगाडी नै सार्वजनिक भएको थियो।

चारै जना मुहर्तमा सहभागी भएका थिए। तर यो चलचित्रमा अन्य बलियो र स्थापित कलाकार देखिने पक्का भएको छ। अभिनेता भुवन केसी, अभिनेत्री विपना थापा चलचित्रमा जोडिएका छन्। भुवन-विपना चलचित्रमा अनमोलको वुवा-आमाको भूमिकामा देखिदैछन् ।

धुलिखेलबाट सुरु भएको छायांकन त्यहाँ तीन दिन चल्नेछ। त्यसपछि काठमाडौंमा छायांकन गरेर लुक्ला प्रस्थान गरिने छ भने भारतको लद्दाख मा पनि चलचित्रको छायांकन हुनेछ । ३ करोड बजेट अनुमान गरिएको चलचित्रको छायांकन सेड्युल ६० दिनको राखिएको छ। सरोज न्यौपानेको निर्माण रहेको चलचित्रलाई सुयोग गुरुङ्गले निर्देशन गर्दैछन्। सुयोगले अनमोल र जसितालाई लिएर चलचित्र ‘फर्की फर्की’ निर्देशन गरेका थिए ।


यो चलचित्रमा निर्मल शर्मा, सुरक्षा पन्त, संगीता मगर, सुष्मा निरौला लगायतको पनि अभिनय रहेनछ। अनन्या फिल्म्स र भण्डारी मल्टिट्रेडको ब्यानरमा निर्माण हुने चलचित्रलाई फागुन २ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ। सरोज न्यौपानेसंग चलचित्र निर्माणमा दीपक भण्डारी, रोबिन सेरचन, रामकृष्ण श्रेष्ठले सहाकार्य गरेका छन् । इश्वर श्रेष्ठ र अनिरुद्र गिरी कार्यकारी निर्माता रहेको चलचित्रमा ओमप्रकाश अग्रवाल र विवेक थापा एसोसिएट निर्माता छन् ।

प्रतिक्रिया दिनुहोस्