व्यावसायिक उछाल ल्याएको दशैँ, कसको कमाई कति छ ?


यो बर्षको दशैँ नेपाली चलचित्र बजारका लागी उल्लासपूर्ण रह्यो। फूलपातीपछि मात्र चलचित्र क्षेत्रले झन्डै २० करोड बराबरको व्यापार गरेको आंकडा रहेको छ। घटस्थापना देखि हिसाब गर्ने हो भने चलचित्र बजारले २५ करोड भन्दा माथीको व्यापार गरेको छ। यो समग्र नेपाली चलचित्र बजारका लागी खुशीको खबर हो।


यो १५ दिनको भित्रमा सर्वाधिक व्यापार गर्ने चलचित्रमा ‘छक्का पन्जा ५’ रहेको छ। ‘१२ गाउँ’ , ‘बेहुली फ्रम मेघौली’ र ‘ज्वाईसाब’ क्रमश दोश्रो, तेश्रो र चौथो स्थानमा रहेका छन्। बेहुली फ्रम मेघौली घटस्थापनामा रिलिज भएको थियो। नेपाली चलचित्रको इतिहासमा सर्वाधिक स्क्रिन पाएर रिलिज भएको चलचित्रको व्यापार पनि सुन्दर थियो। तर तीन नेपाली चलचित्र र भारतीय चलचित्रको एकसाथ रिलिजले कम शोमा खुम्चिएको चलचित्रको टिमले हल प्रति असन्तुष्टि जनाउदै हलबाट चलचित्र उतारेर ओटीटिमा रिलिज गरिसकेको छ।


निश्चल बस्नेत र स्वस्तिमा खड्काको अभिनय र निर्माण रहेको चलचित्रले राम्रो प्रतिक्रिया समेत बटुलेको थियो। १४ दिनसम्म हलमा प्रदर्शन भएको चलचित्रले ३ दिनमा २ करोड २५ लाखको व्यापार गरेको थियो। बाँकि आंकडा सार्वजनिक भएको छैन। तर हलिउडको प्रतिक्षित चलचित्र ‘जोकर २’ लाई नेपालमा पानी भन्न नदिने बनाउन भने चलचित्र सफल भएको थियो।

फूलपातीको महा-भिडन्तको फाइदा नेपाली चलचित्र बजारलाई नै भयो। तीन चलचित्रको रिलिजमा जितु नेपालको ‘ज्वाईसाब’ चेपुवामा पर्यो। कम शोज र कमजोर इनिशियल व्यापारका कारण हलमा चलचित्रले शो वृद्धि गर्न सकेको छैन। सकारात्मक वर्ड अफ माउथका कारण पाएका शो हाउसफुल व्यापार गरेको चलचित्रले लगानी सुरक्षित गर्ने बाटोमा रहेको बुझिएको छ। तर यकिन आँकडा भने सार्वजनिक भएको छैन। जितु नेपाल र नीति शाह चलचित्रमा मुख्य भूमिकामा रहेका छन्।

छोरा समिर भट्टलाई लिएर ‘१२ गाउँ’ लिएर आएका विराज भट्टले यो दशैँमा दर्शकको राम्रो साथ पाए। ‘साङ्गलो’ निर्देशन गरेर असफल बनेका विराजले लामो मिहेनत पश्चात यो चलचित्र तयार पारेका थिए। समिरको फोटो सार्वजनिक देखि नै चर्चामा रहेको चलचित्रको सफलताको क्रेडिट उनलाई नै गएको छ। एक्सन जनराको चलचित्रको प्रतिक्रिया मिश्रित मिले पनि समिरले चौतर्फी प्रसंसा बटुलिरहेका छन्। यतिबेला पनि बक्स अफिसमा तहल्का पिटिरहेको चलचित्रको यकिन कलेक्सन सार्वजनिक भएको छैन । पहिलो हप्ता ७ करोड माथिको ग्रस कलेक्सन गरेको चलचित्रको व्यापारिक आँकडा दोब्बर हुने पक्का छ। दोश्रो हप्ता पहिलो हप्ता पाएको शो बढाउदै व्यापारमा चलचित्र अगाडी बढिरहेको छ।

कलेक्सनको हिसाबले सधै अगाडी रहने चलचित्र ‘छक्का पन्जा ५’ अहिलेसम्म अग्रस्थानमा नै रहेको छ। हास्यरस भन्दा थोरै सिरियस जनरामा प्रवेश गरेको चलचित्रले पहिलो हप्ता ११ करोड ५० लाख बराबरको ग्रस कलेक्सन गरेको आंकडा सार्वजनिक भएको छ। फूलपातीबाट प्रदर्शनको १० दिनसम्म देशब्यापी १५ करोड ४० लाख ग्रस कमाई गरेको आंकडा सार्वजनिक भएको छ। हरेक दिन १ करोड भन्दा माथीको व्यापार गरिरहेको चलचित्रको ओपनिङ्ग आफ्नै सिरिजको रेकर्ड ब्रेक भएको निर्माण टिमले जनाएको थियो। अझै १ हप्ता चलचित्रको व्यापारमा कमि नहुने संकेत देखिदै आएको छ। दिपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्रमा दिपकराज गिरि, केदार घिमिरे, बर्षा शिवाकोटी, राजाराम पौडेल, प्रकाश घिमिरे लगायतको प्रमुख भूमिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्