‘बेहुली फ्रम मेघौली’ नारीप्रधान कथामा मनोरन्जनको खुराक- स्वस्तिमा खड्का


निश्चल बस्नेत र स्वस्तिमा खड्काको उपस्थिति र सार्वजनिक प्रचार सामाग्रीले चलचित्र ‘बेहुली फ्रम मेघौली’ को हाइप बढ्दो रहेको छ। असोज १७ गते फूलपातीबाट रिलिज तयारीमा रहेको चलचित्रमा स्वस्तिमालाई अभिनेत्रीको रुपमा अफर गरिएको थियो। तर चलचित्रको कथावस्तु मन पारेको कारण उनले चलचित्र निर्माण गर्ने निर्णय लिईन्। यो उनको निर्माणमा डेव्यु हो । सोहि कारण पनि यो चलचित्रलाई स्वस्तिमाले अझ बिशेष रुपमा लिएकी छिन्।

स्वस्तिमाको नजरमा ‘बेहुली फ्रम मेघौली’ नारीप्रधान चलचित्र हो।घरका पर्खाल नाघेर अघि बढिरहेका नारीका प्रधान विषय रोनाधोनायूक्त मात्र हुँदैन भन्ने विषयमा यो चलचित्र केन्द्रित छ। चलचित्र प्रस्ताव आउँदा स्वस्तिमाले नारीप्रधान भनेपछि यसलाई रोनाधोनायूक्त चलचित्र होला भन्ने ठानेकी थिइन।

उनको हातमा स्क्रिप्ट दिदां चलचित्रका निर्देशक तथा लेखकहरु साजन बराल र आकाश काफ्ले ‘बेहुली फ्रम मेघौली’ एक नारीप्रधान चलचित्र भएको बताएका थिए। उनको हातमा स्क्रिप्ट आउने बेलासम्म चलचित्रको नाम तय भएको थिएन। स्क्रिप्टमा चलचित्रकी मुल पात्र ३० टेक्न थाल्दा पनि अविवाहित बसेकी र परिवार तथा समाजको जसरी नी बिहे गर्नैपर्ने दबाबको सेरोफेरोमा रहेकी छन्। यो कथालाइ रमाइलो संग स्क्रिप्टमा लेखिएको थियो। पात्रको लागी समस्यायुक्त तर दर्शकका लागी मनोरन्जनात्मक हिसाबले कथा तयार पारिएको थियो। यसले स्वस्तिमालाई निर्माण र अभिनय दुवैमा लोभ्याएको उनको बुझाई रहेको छ ।

‘स्क्रिप्ट पढ्नु पहिले निर्देशकहरुले यो नारीप्रधान चलचित्र भन्नुभएको थियो । नारीप्रधान चलचित्र भनेपछि हाम्रो दिमागमा कस्तो हुन्छ भने अलिक गम्भिर, दुःख देखाउने भन्ने लाग्छ नि । मलाई कसैले नारीप्रधान चलचित्र छ है भन्यो भने अलि दुखीयारी किसिमको कथा भइरहेको हुन्छ। स्क्रिप्ट पढ्नु मलाई पनि त्यस्तै चलचित्र होला भन्ने लागेको थियो’, स्वस्तिमा भन्छिन्, ‘स्क्रिप्ट पढ्नु अगाडि निर्देशकले केही कथा भनेको पनि थिएन। त्यही सोचेर म स्क्रिप्ट पढ्न सुरुवात गरेकी थिए। नारीप्रधान हुँदाहुँदै पनि यो व्यवसायिक र दर्शकले रमाइलो लिने चलचित्र हो।’

स्वस्तिमाका अनुसार चलचित्रमा लगभग ३० वर्ष पुग्न लागेको केटीमान्छे लाई सामाजिक तहमा विवाहको लागि जस्तो दबाब हुन्छ त्यसलाई रमाइलो ढंगले एउटा कथा बनाएर पेस गरिएको छ।

स्वस्तिमाको कुरामा निश्चल बस्नेतको पनि समान धारणा छ। ‘यो परिवारसँग बसेर हेर्दा झन् महशुस गर्न सकिने चलचित्र हो। यसमा बिहे गरिसक्नु भएकाले पहिलाको कुरा सम्झेर धेरै मनोरञ्जन लिनुहुनेछ भने बिहे गर्न बाँकीहरुले यो चाँहि अहिले नै मेरो जीवनमा भइरहेको छ भनेर उहाँहरुले महशुस गर्नुहुनेछ।’

‘बेहुली फ्रम मेघौली’मा निश्चल स्वस्तिमाका साथमा वसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकीय चलचित्र हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् भने कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

प्रतिक्रिया दिनुहोस्