‘रावायण’ को पुन: सेन्सर, अभिभावकको साथमा सबैले हेर्न पाउने


भदौ २१ गतेबाट रिलिज भएको चलचित्र ‘रावायण’ लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले एडल्ट सर्टिफिकेट दिएको थियो । केही विभत्स दृश्य र अपाच्य संवादका कारण १६ वर्षभन्दा मुनिका दर्शकले चलचित्र हेर्न नपाउने गरि सेन्सरले सर्टिफिकेट दिएको थियो। सोहि कारण अभिभावक आफ्ना बच्चालाई लिएर चलचित्र हेर्न हलमा पुग्न सकेका थिएनन्। यसले चलचित्रको व्यापारमा असर गरेको चलचित्रका प्रमुख कलाकार र निर्माण पक्षले नै अभिव्यक्ति दिएको थियो।

निर्माताले केही दृश्यलाई ‘ब्लर’ गरेर केही अपाच्य संवादमा ‘बिप’ हालेपछि सेन्सर बोर्डले सेन्सर सर्टिफिकेट परिवर्तन गरेको छ । अव चलचित्रलाई ‘पीजी सर्टिफिकेट’ दिईएको छ। १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथमा अब चलचित्र हेर्न पाउनेछन् । चलचित्रको निर्माण टीमले केहि दृश्य र संवाद परिवर्तन गर्दै पुन: सेन्सरका लागी निवेदन दिएको थियो । सोहि निवेदनको आधारमा सेन्सर बोर्ड सदस्यले पुन: चलचित्र हेर्दै नयाँ सर्टिफिकेट दिएको थियो ।


पुन: सेन्सर भएपछी निर्मात्री तथा अभिनेत्री पूजा शर्माले खुशी व्यक्त गरेकी छिन्। पूजा लेख्छिन् : ‘भोलि विहानै बाट अब हाम्रो चलचित्र “रावायण” १६ वर्ष मुनिका बाल बालिका लगायत सबै उमेरका दर्शकले हेर्न सक्नेछन – २,३ संवादमा बिप र २,३ सट मा ब्लर गरि सेन्सर गरि सहयोग गरिदीनु भएकोमा सेन्सर बोर्ड प्रति आभार व्यक्त गर्दछौ। ‘

सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रले ठिकठाक व्यापार गरिरहेको छ । तर समग्रमा अपेक्षा गरेजस्तो व्यापार चलचित्रले गरिरहेको छैन । सो को कारण चलचित्रको सेन्सर सर्टिफिकेट पनि भएको निर्माण टिमले दाबि गर्दै आएको थियो। पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रकाश शाह लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्