‘पूर्ण बहादुरको सारङ्गी’ टिजर: सन्तानको प्रगति र खुसीका लागि गर्ने त्याग र संघर्षको कथा


कात्तिक १५ (लक्ष्मीपूजा) लाई रिलिज मिति तय गरिएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा चलचित्रका मुख्य दुई पात्र विजय बराल र प्रकाश सपूत फिचर्ड छन् । गरिबीका कारण बुवाले झेल्नु परेको अभाव, छोराले पाएको शैक्षिक सफलता र विछोडको पीडा टिजरमा समेटिएको छ । वुवाको मुख हेर्ने दिनको छेको पारेर सार्वजनिक टिजर सम्पूर्ण बुवाहरूप्रति समर्पित गरिएको छ ।

एक मिनेट ५० सेकेन्ड लामो टिजरले अभिभावकले आफ्नो सन्तानको प्रगति र खुसीका लागि गर्ने त्याग र संघर्ष तथा त्यसले दिने उपलब्धी समेटेको छ । ‘पूर्णबहादुरको सारङ्गी एक विपन्न बुवाको आफ्नो सन्तान प्रतिको सपना पुरा गर्न गरिने सङ्घर्ष को कथा हो ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रका निर्माता विनोद पौडेल र प्रतीक सुवेदी हुन् । चलचित्रका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

प्रतिक्रिया दिनुहोस्