कार्तिकमा पल र प्रदिपको बक्स अफिस भिडन्त !


पल शाह र प्रदिप खड्का पछिल्लो समयमा स्टार नायक हुन् । दुवैको फ्यान फलोर्स आकर्षक रहेको छ। यी दुवै नायक अभिनित चलचित्र पुजार सार्की जेठमा रिलिज भएको थियो। यो चलचित्र व्यवसायिक हिसाबले सफल बन्यो। क्रेडिट कसले पायो त्यो आफ्नो ठाउंमा छ। अब यी दुवैको बक्स अफिस भिडन्त पक्का भएको छ।

प्रदिप खड्काको चलचित्र ‘एक्टर’ ले छायांकन अगावै चलचित्रलाई कार्तिक १५ गते लक्ष्मीपूजालाई रिलिज मिति तय गरिसकेको छ। एक पोष्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज कार्तिक १५ मै हुने पक्का गरिसकेको छ। हालसम्म यो मितिमा कुनै चलचित्रले रिलिज तय गरेका थिएनन्।

अब यो मितिमा पल शाह मुख्य भूमिकामा रहेको चलचित्र ‘मायावी’ आउने चर्चा रहेको छ । केहि दिनमा नै ‘फर्स्टलुक’ पोस्टर सार्वजनिक गर्दै कात्तिक १५ लाई रिलिज मिति तय गर्ने तयारीमा चलचित्रको टीम रहेको छ। तिहारदेखि छठसम्म शनिबारसहित ६ वटा विदा भएकाले यो मितिमा चलचित्र रिलिजको फाइदा निर्माताले हुनेछ । सोहि कारण पनि यो मितिमा मायावी पनि रिलिजको तयारीमा रहेको छ। लामो बिदा भएको कारण दुई नेपाली चलचित्रलाई नेपाली हलले धन्न सक्ने अवस्था रहेको छ। तर पल र प्रदिपको स्टारडमको परिक्षा भने हुनेछ।

राजन भुषालको निर्देशनमा तयार भएको चलचित्र ‘एक्टर’ मा प्रदिप सहित आना शर्मा र दिव्या रायमाझी मुख्य भूमिकामा रहेका छन् । दिवाकर भट्टराईको निर्देशन रहेको चलचित्र ‘मायावी’ मा पल शाहको साथ मा दिपिका प्रसाइँ मुख्य भूमिकामा रहेकी छिन्।

प्रतिक्रिया दिनुहोस्