‘नम्बरी सुन’ हेर्ने १२ जना दर्शकलाई सुन उपहार


आगामी साउन २५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘नम्बरी सुन’ ले चलचित्र हेर्ने १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरेको छ । ललितपुर स्थित झम्सिखेलमा सोमबार चलचित्र युनिटले गरेको पत्रकार सम्मेलनमा चलचित्रका प्रस्तुतकर्ता नारायण खातीले १२ जना दर्शकलाई चलचित्रका तर्फबाट सुन उपहार दिने घोषणा गरेका हुन् ।

उनले खल्ती एपबाट चलचित्र ‘नम्बरी सुन’को टिकट काट्ने ५ जना र त्यसभन्दा बाहिरका ७ जनालाई दर्शकलाई सुनको मोतीवाला चन्द्रहार प्रदान गर्ने घोषणा गरे । उनले त्यो उपहार लक्की ड्रमार्फत सार्वजनिक गरिने खुलाए । प्रस्तुतकर्ता खाती पेशाले सुन व्यवसायी हुन् ।

चलचित्रका निर्देशक राजु गिरीले चलचित्रले झण्डै ७० वर्ष अघि घर–घर पुगेर सुनको गहना बनाउनेको कथालाई प्रस्तुत गर्ने बताए । ‘अहिलेका दर्शकले मन पराउने फ्लेभरको माया प्रेम, सेन्टिमेन्टल र कमेडी फ्लेभर चलचित्रमा छ’, उनले भने ।

चलचित्रकी नायिका नम्रता सापकोटाले चलचित्रमा आफूले प्रेम प्राप्त गर्न संघर्षरत ग्रामीण युवतीको भूमिका निर्वाह गरेको बताइन् । ‘अहिलेसम्म मैले गरेका चलचित्रभन्दा केही फरक काम ‘नम्बरी सुन’ मा छ’, उनले भनिन् ।

नायक विनोद न्यौपानेले चलचित्रमा आफू सहायक चरित्रमा देखिए पनि त्यो चरित्र दर्शकले मन पराउने दाबी गरे । चलचित्रमा गौरव पहारी, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको पनि अभिनय छ ।

सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता रहेको चलचित्रमा शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व, गौतमराज खड्काको सम्पादन छ । सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा चलचित्र निर्माण भएको छ।

प्रतिक्रिया दिनुहोस्