हलमा थपियो ‘बाटोः रोड टु डेथ’


जेठ ३२ गते शुक्रबारबाट नेपाली चलचित्र ‘बाटो’ रिलिज भएको छ । नेपाली चलचित्र हलमा यतिबेला चलचित्रको चाप रहेको छ । नेपाली र बिदेशी चलचित्र गरेर झन्डै दर्जन बढी चलचित्र प्रदर्शनरत रहेका छन् .। फ्रेस रिलिजमा एक नेपाली, एक बलिउड र एक हलिउडका चलचित्र रिलिज भएका छन् । ‘बाटोः रोड टु डेथ’, ‘चन्दु च्याम्पियन’ र ‘द वाचर्स’ आजबाट प्रदर्शनमा आएका हुन् । हलमा नेपाली चलचित्रहरु ‘पुजार सार्की’, ‘ फर्की फर्की’ र ‘गाउँ आएको बाटो’ प्रदर्शनरत रहेका छन्। एक हलमा अझै ‘बोक्सीको घर’ प्रदर्शनरत रहेको छ।

नेपाली चलचित्रले हलमा राम्रो प्रदर्शन गरिरहेको बेलामा काम प्रचारको बीच चलचित्र ‘बाटो’ रिलिज भएको छ। अन्तिम समयमा प्रचारमा कलाकार सक्रिय देखिएपनि धेरै दर्शक यो चलचित्रको बारेमा जानकार रहेका छैनन्। उच्च प्रविधिको प्रयोगका साथ तयार पारिएको चलचित्रले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया बटुलेको थियो। क्राइम-थ्रिलर जनरामा तयार भएको चलचित्र नेपालीसँगै तमिल, तेलुगु र हिन्दी गरी चारवटा भाषामा तयार भएको छ । मदन थापाको लेखन, निर्देशन र सम्पादन चलचित्रमा रहेको छ । मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, राजेन थापा, आभास अधिकारी लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्