‘मोदीबेनी’ मा ‘एङ्ग्री योङ म्यान’ अमर प्रताप र रहस्यमय अवतारमा बर्षा
आगामी श्रावण १८ गते रिलिज हुने चलचित्र ‘मोदीबेनी’का दुई पोस्टर सार्वजनिक गरिएको छ। यस चलचित्रका प्रमुख कलाकारहरू अमर प्रताप श्रेष्ठ र वर्षा सिवाकोटीलाई फिचर गरिएका दुई छुट्टाछुट्टै पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरमा चलचित्रबाट डेब्यु गरेका अभिनेता श्रेष्ठलाई ‘एङ्ग्री योङ म्यान’को रूपमा देखाइएको छ। उनी कुनै पहाडी इलाकामा हातमा बाँसको मोटो लट्ठी समाएर रिसाहा भावमा उभिएका छन्। उनको गालामा चिथोरिएको दाग छ, हातमा टाँका लगाइएको अवस्थामा छन् भने नाडीमा खतराको सङ्केत भएको कालो ब्रासलेट लगाएका छन्। पोस्टरको विश्लेषण गर्दा उनलाई एक्सन अवतारमा ‘मोदीबेनी’मा देख्न पाइनेछ। अमरले ओजस थिएटरमा अभिनय प्रशिक्षण लिई केही नाटकमा अभिनय गरेका थिए।
अभिनेत्री सिवाकोटीलाई पोस्टरमा रहस्यमय अवतारमा देखाइएको छ। उनी पनि कुनै पहाडी इलाकामा उभिएकी छन्। उनको पछाडि उकालो बाटो छ। उनी थोरै बुट्टा भएको सेतो कपडामा छिन्। यस चलचित्रमा वर्षा अमरको जोडीको रूपमा अभिनय गरेको भएता पनि पोस्टर भने अलग अलग सार्वजनिक गरिएको छ। यसबाट कथामा केही रहस्य लुकेको अनुमान लगाउन सकिन्छ।
‘मोदीबेनी’का निर्देशक शङ्कर कोइरालाले चलचित्रको कथामा आधारित रहेर पोस्टर तयार पारिएको बताए। उनले यस चलचित्रमा अभिनेता अमर एक्सन प्रधान भूमिकामा रहेको खुलासा गरे। पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर बनेको यो चलचित्रको कथामा त्यहाँको मात्र कथा नभई नेपालको जुनसुकै स्थानमा पनि त्यस्ता घटनाहरू भइरहेको पाइने उनले बताए। चलचित्रमा बदलाको कथा रहेको बताउँदै निर्देशकले कथाको अन्य ‘क्लु’ दिन भने अस्वीकार गरे।
यस चलचित्रमा अमर र वर्षा सहित रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको अभिनय रहेको छ। डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन्।