चित्लाङबाट सुरु भयो जितु र नीतिको ‘ज्वाइँ साब’ छायांकन


जितु नेपाल र नीति शाह प्रमुख भूमिकामा रहेको चलचित्र ‘ज्वाइँ साब’को शुभ साइत गर्दै छायांकन सुरु गरिएको छ ।
शुक्रबार बिहान मकवानपुरको चित्लाङमा अवस्थित भैरव मन्दिरमा पूजा गर्दै छायांकन प्रारम्भ गरिएको हो । एक महिनासम्म यो चलचित्रलाई विभिन्न फरक लोकेशनमा खिचिनेछ । चलचित्रलाई चित्लाङमा २० दिन खिचिनेछ भने सौराहा र इलाममा पनि चलचित्र खिच्ने तयारी गरिएको छ ।

चलचित्रका मुख्य कलाकार जीतु नेपाल, नीति शाह लगायतको टीमले भैरव मन्दिरमा पुजा गरेका थिए । चलचित्रमा वुद्दि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डे लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।
रेड आइ फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुने चलचित्रलाई बसन्त निरौलाले निर्देशन गर्दैछन्।

राज कुमार पण्डित प्रस्तुतकर्ता रहेको चलचित्रमा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहनेछ । विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहनेछ ।
यो बर्षको तिहारमा रिलिज हुने चलचित्रले सामाजिक कथालाई कमेडी शैलीमा प्रस्तुत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्