‘पुजार सार्की’ को चरित्र निर्माणमा आर्यन, प्रदिप र पलको मिहेनत


चलचित्र ‘पूजार सार्की’ जेठ १० गतेबाट रिलिज हुँदैछ। दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्र स्टारकाष्ट र सार्वजनिक प्रचार सामग्रीका कारण चर्चामा रहेको छ। आर्यन सिग्देल, प्रदिप खड्का र पल शाह तीन स्टारले पहिलोपटक एकसाथ अभिनय गरेको कारण पनि यो चलचित्र चर्चामा रहेको छ। अझ कलाकारको पात्र लुक्स र भिडियो साथमा बोलेका संवादले पनि दर्शकमा थप उत्साह थपिरहेको छ ।

प्रमोशनको दौरान कलाकारले आफ्नो पात्र मिहेनत र फरकपनले चर्चा पाईरहेको छ। चलचित्रमा प्रदिप खड्का मैतबहादुरको भूमिकामा देखिएका छन्। लामो कपाल पालेर दमाह बजाउदै गरेको उनको फोटो सार्वजनिक भए देखि नै उनले चर्चा पाएका थिए। चलचित्रको टिजर र ट्रेलर सार्वजनिक भएपछि उनको चर्चा झन् चुलिएको छ। चुलबुले पात्र , प्रेमिकाको लागी ज्यान दिन तयार मैतबहादुर पात्रको हाउबाउ र संवादको लागी गरेको मिहेनत ट्रेलरमा स्पष्ट देखिएको छ।

चलचित्रमा आर्यन सिग्देल पुजारको भूमिकामा देखिएका छन्। यो उनले गरिरहेको चलचित्रको पात्र भन्दा फरक पत्र रहेको अनुभव उनको रहेको छ। ‘पुजार सार्की’मा देखिने आर्यनको ब्राह्मण लुक उनकै पिताबाट प्रभावित छ। चलचित्रका निर्देशक दिनेश राउतले आर्यनका बुवाको तस्बिर देखेका थिए। चलचित्रका पात्रहरू ‘सेटिङ’ गर्ने क्रममा राउतलाई त्यो फोटो याद आयो। अनि आर्यनसँग सोही फोटो मागेर क्यारेक्टरमा काम गर्न थाले।

“मलाई पुजारीको चरित्र निभाउन मेहनत गर्नुपर्‍यो तर, लुक्स बनाउन भने मेहनत गर्नुपरेन। निर्देशकले मेरो बुवाको पुरानो फोटो सम्झिएका रहेछन्। उनले त्यो फोटो मागे पछि मैले दिएँ। त्यो फोटो अनुसार मेरो लुक्स ट्राई गर्ने बित्तिकै फाइनल भयो। तर, क्यारेक्टरको गहिराइबारे सोच्दा भने अलिक गाह्रो भयो,” आर्यनले बताए।आर्यनको लुक्स बाहिरिएपछि बुवा समेत खुसी भए। “निकै सुहाएको छ, मेरै कपी गरिछस् भन्नुभयो,” आर्यनले सम्झिए।

पल शाहलाई पनि चलचित्रमा दर्शकले देखिरहेको भन्दा फरक भूमिकामा देख्न पाउनेछन्। लभरव्वाइको रुपमा देखिदै आएका उनि यो चलचित्रमा भिन्न गेटअप र क्यारेक्टरमा देखिएका छन्। यी तीन स्टारलाई निर्देशक दिनेश राउतले फरक भूमिकामा मिहेनत गर्न सक्दो प्रयास गरेका छन्। जसको प्रभाव ट्रेलरमा देखिएको छ। सुबास भुषालले निर्माण गरेको चलचित्रलाई बिकास सुवेदीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्