१६ करोड माथी कमाई गर्दै ‘महाजात्रा’ मनायो ५१ दिन


‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको आठौँ सातामा प्रवेश गर्दै ५१ औँ दिन पुरा गरेको छ ।अन्तर्राष्ट्रियब जारमा सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्र बनेको ‘महाजात्रा’ ले शनिवार काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, वान सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, विग मुभिज, सिनेडी सेफ र मोफसलमा नेपालगञ्जमा रहेको सिने रोयलमा प्रदर्शनको ५१ औँ दिन पुरा गरेको हो ।

गत वर्ष विसं २०८० चैत ९ गतेदेखि सार्वजनिक प्रदर्शन सुरू गरिएको ‘महाजात्रा’ ले अहिलेको समयमा समेत ५१ औँ दिनको यात्रा तय गर्नु सुखद खबर रहेको अभिनेता हरिवंश आचार्यले बताए । षट्कोण आर्ट्सद्वारा ५१ औं दिनको अवसर आयोजित विशेष समारोहमा सहभागी हुँदै उनले अहिले नेपाली चलचित्रलाई दर्शकहरूबाट प्राप्त मायाका लागि आभार व्यक्त गरे ।

‘यो शृङ्खलाका अघिल्ला चलचित्र झैँ यसपटक पनि काठमाडौँ उपत्यकाका १२ र मोफसलमा १ गरी १३ हलमा ५१ औँ दिनको यात्रा पार गरेको छ । दर्शकले नै चलचित्र राम्रो छ भनेपछि प्राप्त प्रतिक्रियाले यो सफलता पाएका छौँ । दर्शकलाई जती धन्यवाद दिएपनि कम हुन्छ’, अभिनेता आचार्यले भने,‘अहिले नेपाली चलचित्र लाई दर्शकले साथ दिईरहेका छन् । प्रदर्शन भएका चलचित्र ले घरेलु बजार र विदेशी बजारमा राम्रो व्यापार गरिरहेको छ । यसले यो वर्ष नेपाली चलचित्रका लागि सुखद हुने देखिएको छ ।’

आयोजित समारोहमा अभिनेता आचार्यसँगै रवीन्द्र झा, शिशिर वाङ्ग्देल, दिव्य देव, अरविन खड्का, एसोसियट निर्देशक जेवी रुवाली, प्रोडक्सन म्यानेजर रुपकप्रताप अधिकारी लगायत सहभागी थिए । चलचित्रका मुख्य कलाकार विपिन कार्की र वर्षा राउत एक चलचित्रको छायांकनको लागि अमेरिका रहेको र निर्देशक प्रदीप भट्टराई, कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ र निर्माता म्याक्स दीपेश खत्री भारतमा रहेकाले कार्यक्रममा सहभागी हुन् सकेनन् ।

निर्माता खत्रीले नेपालमा चलचित्रले सोह्र करोड आठ लाख रुपैयाँको ग्रस कलेक्सन गर्न सफल भएको जानकारी दिएका छन् । ‘हामीलाई यो सफलताले अझैँ दायित्व बोध भएको छ । आगामी दिनमा दर्शकको भरोषालाई बढाउने र विश्वास टुट्न नदिने गरी काम गर्ने छौँ । हामीले नयाँ चलचित्र विसं २०८२ को दसैँमा ल्याउने छौं’, निर्माता खत्रीले भने ।

यसका साथै चलचित्रले घोषणा गरेको ‘महाजात्राको महाजोडी’ फोटो प्रतियोगिताको विजेता प्रविनजंग थापा र प्रकाश के बुढाले एक÷एक थान मोबाइल प्राप्त गरेका छन् । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका चलचित्रका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।

प्रतिक्रिया दिनुहोस्