सगरमाथा आरोहण गर्दै दिया, सौगातसहितले गरे बिदाई


वीरविक्रम चलचित्र बाट डेव्यु गरेकी अभिनेत्री दिया पुन संसारको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारीमा रहेकी छिन्।  उनलाई चलचित्र ‘मन्त्र’ को टिमले राष्ट्रिय झण्डा र पोस्टरसहित बिदाइ गरेको छ । बुधबार आरोहणका लागि प्रस्थान गर्दै गरेकी पुनलाई  पत्रकार सम्मेलन गर्दै निर्देशक, निर्माता र अन्य कलाकारले बिदाइ गरेका थिए । अभिनेता सौगात मल्ल र निर्देशक खिलबहादुर गुरुङसहितको चलचित्र युनिटले दीयालाई सगुनस्वरुप दही चखाएर शुभकामना समेत दियो । मौसमले साथ दिए अप्रिल ६ मा दीया सगरमाथा चुचुरोमा पुग्नेछिन् ।

अर्जेन्टिनाको ६ हजार ९६१ मिटर अग्लो माउन्ट ओकुनकागवा चढेर आरोहण यात्रा थालेकी दीयाले यसअघि ८ हजार १६३ मिटर अग्लो हिमाल मनास्लु पनि चढेकी छन् । आफ्नै ४२ लाख रुपैयाँ खर्चमा सगरमाथा आरोहण गर्न लागेकी दीयाले तीनवटा च्यारिटीको लागि हिमाल चढ्न लागेकी हुन् । जसमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) टुगेदर, उनी कार्यरत कोलचेस्टर अस्पताल च्यारिटी र नेपालमा रहेको चिल्ड्रेन एण्ड युथ फर्स्ट रहेका छन् ।

सगरमाथा आरोहणका लागि उत्साहित रहदै दिया भन्छिन्, ‘सामागाउँमा चलचित्र छायाँकन गर्ने क्रममा बिहान मनास्लु हिमाल प्रष्ट देखिन्थ्यो । त्यतिबेला हिमाल चढ्छु भनेर सोचेकी थिइनँ । अब सगरमाथा चढ्ने कोसिस गर्दैछु ।’

 अभिनेता सौगात मल्लले आफूले कहिल्यै नसोचेको सगरमाथा आरोहणबारे दीयाको योजनाले आफूलाई समेत ऊर्जा थपेको बताए । ‘हिमाली क्षेत्र मलाई मनपर्छ । मलाई पनि घुम्न जान मन लागेको छ,’ सौगातले भने ।

 करिब ५१०० मिटर भन्दा माथिको उचाइ मनास्लु हिमालको बेस क्याम सम्म पुगेर  चलचित्र ‘मन्त्र’ को छायाँकन गरिएको निर्देशक खिल बहादुर गुरुङले बताए।  खिल बहादुर गुरुङ निर्देशित चलचित्रले हिमाली प्रेम कथा बोल्छ । यस चलचित्र मार्फत सौगात र दियाले पहिलो पटक स्क्रिन शेयर गरेका छन् ।

साम्तेन भुटिया,सुनिल नेउरे,परिच्छेद सेनले लेखेको चलचित्रमा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन,सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ । चलचित्र बैशाख १६ गतेबाट देशभर सार्वजनिक प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्