मिलन नेवारले विनोद राईसँग ‘चञ्चल बिजुली आँखा’ गीत गाउने


काठमाडौँ । द भ्वाइस अफ नेपालको कोचसमेत रहेकी गायिका मिलन नेवारले द भ्वाइसको टप आठमा पुगेका विनोद राई र आफ्नो स्वरमा रहेको गीत ल्याउन लागेको जानकारी दिएकी छन् । 

 द भ्वाइसको कार्यक्रमै आफ्नो टिममा रहेका विनोद राईलाई ब्लाइन्ड अडिसनमा आफूसँग गीत गाउने अवसर दिने भन्दै गायिका मिलनले प्रतिस्पर्धी विनोदलाई आफ्नो टिममा ल्याएकी थिइन् । द भ्वाइसकै अडिसनमा विनोदसँग गीत गाउने वाचा गरेकी उनले अब सो वाचा पूरा गर्न ‘चञ्चल बिजुली आँखा’ बोलको गीत रेकर्ड गर्न लागेको जानकारी दिएकी हुन् ।

फुलबुट्टे सारी  १० करोड भ्युज सेलिब्रेसन 

गायिका मिलनको स्वरमा आएको फुलबुट्टे सारी सपक्क पारी, पछ्यौरी मलमलको बोलको गीतले युट्युबमा १० करोड भ्युज पाएको छ । जसले उनको गायिकी उचाइलाई थप बलियो बनाइरहेका बेला उनले सो घोषणा गरेकी हुन् । २०६६ सालमा मार्मिक लामाले गाएको ‘फुलबुट्टे सारी’ तीन वर्षअघि गायिका मिलन नेवारले गाएकी थिइन् । गीतकार र सङ्गीतकार राजनराज सिवाकोटीको यो गीत १२ वर्षपछि चर्चामा आउन सुरु भएको थियो । यसरी गीतले चर्चा पाउनुको कारण दर्शक र श्रोताले हृदयदेखि नै मन पराइदिनु रहेको गायिका मिलन बताउँछिन् । 

झन्डै मृत्युतुल्य अवस्थामा पुगेको यो गीत २०७७ को लक्ष्मीपूजाको दिन फेरि रेकर्डिङ गरेपछि एकाएक लोकप्रिय मात्र भएन त्यही लोकप्रियताको कारण विभिन्न भर्सनमा समेत निकालियो । गीतमा शब्द, साङ्गीतिक र गायन तीनै पक्ष उत्कृष्ट छ । रोमान्टिक भावधाराको यो गीतमा एउटा प्रेमीले आफ्नै प्रियसीको बारेमा मिठा कल्पना गरेको सुन्न पाइन्छ । 

नारीको केशलाई रेशमी चुल्ठोसित तुलना गरिएको गीतमा नारीको सौन्दर्यलाई विभिन्न कोण–प्रतिकोणबाट व्याख्या गरिएको छ । गायिका मिलन नेवारको स्वरमा पुनर्जिवित भएको यो गीतले तीन वर्षमा युट्यवमा १० करोड भ्युज कमायो । गायिका नेवार र गीतकार एवं सङ्गीतकार सिवाकोटी लगायत टिमले आइतबार केक काटेर खुसीयाली मनाए ।

काठमाडौँको प्रिज्मा रेकर्डिङ स्टुडियोमा खुसीयाली मनाउँदै गायिका मिलन नेवारले आफूले यो गीत गाउन पाउनु पुनर्जन्म पाए जतिकै भएको बताइन् । यो गीतको सफलतासँगै आफ्नो गायन यात्रा सफल भएको भन्दै उनले गीतकार एवं सङ्गीतकार सिवाकोटीले दिएको उक्त अवसरको मुक्तकण्ठले प्रशंसा गरिन् । सिवाकोटीले पनि यो गीतले अपेक्षाकृत सफलता पाएको भन्दै खुसी व्यक्त गरे । उनले यो गीत हिट बन्नुमा मिलन नेवार लगायत टिमकोको मेहनत र श्रोता दर्शकको मायाको  ठूलो हात रहेको भन्दै प्रशंसा गरे । 

 खुसीयाली साटासाट कार्यक्रममा उक्त गीतका म्युजिक भिडियो निर्देशक राजेश पुमा राईले देशको जनसङ्ख्या भन्दा ५ गुणा भ्युज आउनु निक्कै खुसीको विषय भएको बताए । उनै गायिका मिलनले नवगायक विनोद राईलाई अवसर दिएर साङ्गीतिक क्षेत्रमा एउटा इँटा थप्ने काम गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्