ताराचन्द्र बजगाइँ ‘निशान’ कांग्रेस मकवानपुरको ‘कान्छो पदाधिकारी’


नेपाली कांग्रेस मकवानपुर सहसचिवमा निर्वाचित ताराचन्द्र बजगाइँ ‘निशान’ ‘कान्छो पदाधिकारी’ रहेका छन् । विद्यार्थी संगठनबाट औपचारिक रुपमा राजनीति थालेका ३४ वर्षीय बजगाइँ १६ फागुनमा भएको जिल्ला अधिवेशनबाट सहसचिवमा निर्वाचित भएका हुन् । बुद्ध लामा सभापतिमा निर्वाचित हुँदा उनी सहसचिवमा विजयी भएका हुन् । लामा र बजगाइँ संस्थापन समूह (देउवा समूह)बाट पदाधिकारिमा निर्वाचित भएका हुन् भने बाँकी संस्थापनइतर समूहबाट विजयी भएका छन् । ‘सहसचिवमा निर्वाचित भएपछि जिल्लाको कान्छो पदाधिकारी बनेको छु,’ उनले भने ।
टेलिसिरियल मेरी बास्सैकी मैयाँ अर्थात् सुनीता गौतमका श्रीमानसमेत रहेका बजगाइँ कलाकारिता र समाजसेवा गर्दै राजनीतिमा सक्रिय रहेका छन् ।
२०६१ सालमा पशुपति बहुमुखी क्याम्पस चावहिलको नेविसंघ इकाइ उपसभापति जिम्मेवारी सम्हालेर औपचारिक रुपमा राजनीतिमा सक्रिय भएका उनी अहिले कांग्रेस मकवानपुरको सहसचिवको जिम्मेवारी पाएका छन् ।
राजनीतिलाई समाजसेवामा समर्पित गर्ने बताएका उनले आफूले पाएको जिम्मेवारी निर्वाहमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
गत मंसिरमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनको महाधिवेशन प्रतिनिधिसमेत बनेका उनी अहिले जिल्लामा सक्रिय रुपमा राजनीतिमा होमिएका छन् ।
कोरोनाभाइरस संक्रमण महामारीमा आइसोलेसन सेन्टर निर्माण गर्दै जनताको सेवामा खटिएका उनी अहिले पनि समाजसेवामा सक्रिय छन् ।
समाजसेवी र सफल चलचित्र निर्माताको परिचय बनाइसकेका उनी अहिले सक्रिय राजनीतिमा रहेर नै समाजसेवामा लाग्ने बताउँछन् । मेरी बास्सैमा समेत अभिनय गरेका उनी चलचित्र ‘वडा नम्बर छ’, ‘छ एकान छ’ छक्का पन्जाको १, २ र ३ तथा ‘छ माया छपक्कै’ निर्माता समेत हुन् । उक्त चलचित्रले उनलाई सफल निर्माता बनायो ।
कलाकार, निर्माता, समाजसेवी हुँदै अब कांग्रेसको जिल्लाको जिम्मेवारी पाएका उनी आफूले पाएको जिम्मेवारी पूरा गरेरै छाड्ने अठोट गर्छन् ।
उनी बागमती–३ मा रहेको बुद्ध माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत हुन् । आफू अध्ययनरत विद्यालयको अध्यक्षताको जिम्मेवारी पाएका उनले विद्यालयमा सकारात्मक परिवर्तन ल्याएका छन् । पद पाउनुभन्दा जिम्मेवारी पूरा गर्नु महत्वपूर्ण रहेको भन्दै उनले आफूले पाएको विद्यालय र पार्टीप्रतिको कर्तव्य र जिम्मेवारी पूरा गर्ने बताए । यसका लागि श्रीमती मैयाँसहित परिवारको साथ पाएको र पाइरने निशानले विस्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्