हरिवंश आचार्यको ‘भूठान’ ट्रेलरमा के छ ?
चलचित्र ‘भूठान’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ‘भूठान’ को ट्रेलर सार्वजनिक गरेको हो । अमेरिका पुगेका भुटानी शरणार्थीको कथा ट्रेलरमा छ । वृद्ध अवस्थामा पुगेका एक व्यक्तिले जीवनको उत्तरार्धमा अमेरिकाबाट भुटान फर्किन गरेको प्रयास ट्रेलरमा देख्न सकिन्छ । जिन्दगीले जन्मभूमिमा जरा गाडिसकेपछि पराइ भूमिमा बाध्य भएर बस्नु पर्दाको उकुसमुकुस चलचित्रले भन्ने संकेत गरेको छ ।

पराइ भूमिमा भौतिक सुख प्राप्त भए पनि धर्म, संस्कार र संकृति नमिल्दा त्यसले पार्ने प्रभाव ‘भूठान’ले भन्ने संकेत ट्रेलरले गरेको छ । परिवारमा धर्म संस्कारलाई लिएर भएको विवादले पर्ने प्रभाव पनि ट्रेलरले देखाएको छ ।
अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य छन् । दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी छन् ।
हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् ।
भुटानदेखि भारत र नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दा घर हराएको कथा ‘भूठान’ ले उठान गरेको छ । चलचित्र वैशाख १२ गते रिलिज हुँदैछ ।
विनोद पौडेलको निर्देशन रहेको ‘भूठान’का निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन् । सुसन प्रजापतिले खिचेका छन् । कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ छन् । अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनी, समवरण केमको संगीत, सूर्य शाहीको कास्टिङ, उज्जवल श्रेष्ठको पव्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, वलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहेको छ ।
चलचित्रलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो ।