सकियो धिरज र मिरुनाको ‘कुस्ती’ छायांकन, भदौमा रिलिज हुँदै
धिरज मगर र मिरुना मगरले पहिलोपटक सहकार्य गरेको चलचित्रको छायांकन सकिएको छ। गीत बाहेकका चलचित्रका सम्पूर्ण दृश्यहरुको छायांकन सकिएको निर्माण टिमले जानकारी दिएको छ। अनिल योञ्जनको निर्देशनमा तयार भैरहेको चलचित्रको ३९ दिनमा छायांकन सकिएको हो। निर्देशक योञ्जनले भने,‘कुस्ती एक अर्कासँग छुट्टिएर बस्न नसक्ने र सँगै रहन पनि नसक्ने मनका भावनाहरूको मधुर यात्रा हो ।

भावनात्मकतासँगै हास्यरसले भरिएको यो चलचित्र प्रेम कथानक कमेडी ड्रामा हो ।’ चलचित्रमा धीरज मगर, मिरुना मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायतका कलाकारको अभिनय रहेको छ ।
एमटीभीको चर्चित भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चिनिएकी दिकिला शेर्पाको यो डेब्यु नेपाली चलचित्र हो । धिरज र मिरुनाको जोडी भएका कारण पनि चलचित्रको चर्चा धेरै रहेको छ। सोहि चर्चाका कारण पनि चलचित्रको विदेश डिमाण्ड बढिरहेको छ। विदेश प्रदर्शन अधिकार खरिदका प्रस्तावहरु आइरहेको र चाडै प्रदर्शन तय गरिने निर्देशक योञ्जनले बताए । चलचित्र आउँदो वर्ष २०८२ को भदौमा प्रदर्शन हुनेछ ।