प्रकाशको ‘वसन्त’ मा दर्जन बढी कलाकारको केमियो
हलमा यतिबेला प्रकाश सपुतको डेव्यु निर्देशनमा तयार भएको चलचित्र ‘वसन्त’ प्रदर्शनरत रहेको छ। चैत्र २२ गते शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले हलमा ठिकठाक व्यापार गरिरहेको छ । सोचेजस्तो व्यापारमा अब्बल सावित नभएपनि चलचित्र हेर्ने दर्शकले भने राम्रो प्रतिक्रिया दिईरहेका छन्। चलचित्रले उठान गरेको कथा, गीतसंगीत देखी कलाकारको अभिनय दर्शकले रुचाइरहेका छन्।

हलमा चलचित्र हेर्न पुगेका दर्शकलाई प्रकाश सपुतले सप्राइज प्याकेज दिएका छन्। चलचित्रमा नाम चलेका धेरै कलाकारले कमेयो भूमिकामा अभिनय रहेका छन्। चलचित्रमा महानायक राजेश हमाल अभिनेताहरू दीलिप रायमाझी, निश्चल बस्नेत, नाजिर हुसेन, अभिनेत्रीहरू करिश्मा मानन्धर, केकी अधिकारी, प्रियंका कार्की, सुरक्षा पन्त लगायतको कलाकारको अभिनय दर्शकले हेर्न पाउनेछन्।
उनीहरुको साथमा लोकदोहोरीकी अहिलेकी चर्चित गायिका शान्तिश्री परियार, मोडल अञ्जली अधिकारी समेतलाई हेर्न सकिन्छ । ‘वसन्त’ मा यति धेरै चर्चित कलाकारहरूको अभिनय रहेपनि निर्देशक तथा अभिनेता प्रकाश सपुतले यसबारे प्रदर्शनअघि कुनैपनि जानकारी दिएका थिएनन्।
कतिपयले यति ‘वसन्त’मा धेरै कलाकारहरूको विशेष भूमिकामा रहेपनि निर्देशक तथा अभिनेता प्रकाशले किन रिलिजअघि खुलाउन चाहेनन् भन्ने चासो समेत राखिरहेको सार्वजनिक फेसबुक रिल्स र टिकटकमा व्यक्त गरेका छन् । प्रदर्शनअघि यी कलाकारको बारेमा जानकारी दिएको भए यसले चलचित्रको व्यापारमा समेत प्रभाव पार्ने धारण दर्शकको छ । यी कलाकारहरूको भूमिका कस्तो छ र कति महत्त्वपूर्ण छ त्यो भने हलमा चलचित्र हेर्न पुगेका दर्शकले महसुस गर्छन् ।
चलचित्रमा प्रकाश सहित स्वस्तिमा खड्का, खड्गबहादुर पुन (खबपु), प्रभात पाल ठकुरी, श्री शिभांसी, उर्मिला लाम्गादे, अनुप बराल, प्रकाश घिमिरे लगायत कलाकारको अभिनय छ । मोहन विश्वकर्मा र बिन्दु बोहोरा निर्माता तथा कार्यकारी निर्मातामा बिरेन्द्र नारायण श्रेष्ठ, अनुरोध भट्टराई र नाना थकाली छन् ।