‘जनै हराएको बाहुन’ को शुभमुहर्त, भोलीबाट छायांकन सुरु


हिमाल न्यौपानेको निर्देशनमा तयार हुने चलचित्र ‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको बूढानीलकण्ठमा आइतबार बिहान चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेका थिए । शुभमुहूर्तमा अभिनेत्री मिरुना मगर, अभिनेता सुशांक मैनाली, कलाकार गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सर्ट दिए । भोलिबाट चलचित्रको छायांकन सुरु हुने निर्माणपक्षले जनाएको छ ।

चलचित्रमा विजय बराल, सुशांक मैनाली, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, रियर राई, भोलाराज सापकोटा लगायत कलाकारको अभिनय रहनेछ । काभ्रेपलान्चोकको पनौतीबाट छायांकन सुरु हुने चलचित्रको पाल्पा र काठमाडौंमा पनि छायांकन हुनेछ । गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा भन्ने चलचित्र आमा र छोराबीचको भावनात्मक कथामा निर्माण हुनेछ ।

शुभमुहूर्तपछि मिडियासँग संक्षिप्त कुरा गर्दै अभिनेत्री मिरुनाले भनिन्, ‘यो टिममा आबद्ध हुन पाउँदा नै म एकदमै खुसी, सम्पूर्ण टिमलाई नै धन्यवाद भन्न चाहन्छु । यसमा मेरो क्यारेक्टर मेरो लागि विशेष छ ।’

बलियो लाइनअप रहेको चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । पेपरक्लिप प्रालिको निर्माण रहने चलचित्रमा निर्माता विमल न्यौपाने र कार्यकारी निर्मातामा कमल न्यौपाने, नारायण तिम्सिना, चुरामणी शिवाकोटी, रुपेश लामा र आरके मानन्धर रहेका छन् । थानेश्वर गौतम र एस डि योगीको संगीत रहने चलचित्रको छायांकन सेड्युल ४० दिनको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्