खगेन्द्र र बर्षाको ‘हर्ष’ छायांकन सम्पन्न, रिलिज मिति कहिले?
खगेन्द्र लामिछाने र बर्षा राउत मुख्य भूमिकामा रहेको चलचित्र ‘हर्ष’ को छायांकन सम्पन्न भएको छ। ४० दिनको सेड्युल लिएर छायांकनमा निस्किएको चलचित्रको सम्पुर्ण छायांकन ३५ औं दिनमा प्याकअप भएको हो। एकता पौडेलको निर्देशनमा चलचित्र तयार भएको हो। चलचित्रको सम्पूर्ण छायांकन चितवनमा गरिएको हो।

चलचित्रमा समावेश ५ वटा गीत र सम्पूर्ण सिनहरुको छायांकन सकिएको निर्देशक पौडेलले जानकारी दिईन्। चलचित्रको पोष्ट प्रोडक्सनको काम सकेपछि रिलिज मिति तय गर्ने तयारीमा निर्माण टिम रहेको छ। चलचित्रमा खगेन्द्र र वर्षासहित सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापित अभिनय रहेको छ।
डेब्यु निर्देशक पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन् । उनले न्यूयोर्क फिल्म एकेडेमीमा चलचित्र मेकिङ अध्ययन गरेकी छन् । आमसंचारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी छन् । यसका अलावा उनले केही छोटा चलचित्रहरु बनाएकी छन् ।
पारिवारिक सामाजिक कथा पस्किने चलचित्रको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन्। चलचित्रमा आलोक शुक्लाको छायांकन, वसन्त सापकोटा र एलिश कार्कीको संगीत, लोकेश बज्राचार्यले सम्पादन र सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको छ । ई-प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सन ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता प्रशन्न पौडेल र विकास पौडेल (चितवन) तथा कार्यकारी निर्मातामा हिक्मत चोखल (चितवन) रहेका छन् ।