‘वसन्त’ नयाँ गीत युट्युव ट्रेण्डीङ्गमा, करियरमा नयाँ यात्रा कोर्दै प्रकाश सपुत
चैत्र २२ गतेबाट आफ्नो करियरको यात्रामा प्रकाश सपुत नयाँ इट्टा थप्ने कोसिसमा रहेका छन्। गायक, सर्जक र अभिनेताको रुपमा आफुलाई स्थापित गरेका सपुत अव चलचित्र निर्देशकको रुपमा नयाँ यात्रा सुरुवात गर्दैछन्। उनको निर्देशनमा तयार भएको चलचित्र ‘वसन्त’ का प्रचार सामग्रीलाई दर्शकले रुचाईरहेका छन्। रिलिज मिति नजिकिदै गर्दा निर्माण टिमले चलचित्रको नयाँ गीत सार्वजनिक गरेको छ। सुगम पोख्रेल र समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘हेर्दै आँखामा’ निर्माण टिमले सार्वजनिक गरेको हो। गीतमा प्रकाशको शब्द संगीत रहेको छ।

गीतको भिडियोमा अभिनेता प्रकाश सपुत र अभिनेत्री स्वस्तिमा खड्कालाई रोमान्टिक अवतारमा फिचर्ड गरिएको छ । नेपाल र भारतको गोवामा चलचित्रको गीतको भिडियो खिचिएको छ। कविका खत्रीले कोरियोग्राफी गरेको भिडियोलाइ सुशन प्रजापतिले खिचेका छन् भने प्रविन भट्टको सम्पादन भिडियोमा रहेको छ।
रिलिजको १६ घण्टा पुगेको गीत युट्युव ट्रेण्डिङ्गमा पर्न सफल भएको छ। नेपालको म्युजिक सेक्सनमा गीत यो समाचार तयार पर्दासम्म २२ नम्बरमा रहेको छ । २ लाख बढी दर्शकले हेरेको गीतको प्रतिक्रिया पनि अब्बल रहेको छ। यो गीतले चलचित्रको प्रमोशनमा मद्दत मिल्ने अपेक्षा निर्माण टिमको रहेको छ। गीत रिलिजको समयमा निर्माण टिमले पत्रकार भेटघाटसमेत गरेको थियो। पत्रकार भेटघाट कार्यक्रममा डेव्यु निर्देशक तथा अभिनेता सपुतले मानिस जुनसुकै जात, धर्म अनि वर्गको भएपनि एक नै भएको सन्देश ‘हेर्दै आँखामा’ गीतले दिने बताए । ‘वसन्त’मा समावेश गीतले चलचित्र अनुसार भए नभएको अहिले खासै अर्थ नराख्लान तर कुनै न कुुनै दिन पक्कै चर्चा हुने र त्यसको महत्त्व देखिने विश्वास व्यक्त गरे ।
नेपाल र विदेशमा एक साथ रिलिज हुने चलचित्रमा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने चलचित्रको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् । चलचित्रको कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा चलचित्रले भन्नेछ।