सस्पेन्स थ्रिलर चलचित्र ‘खेल’ को ट्रेलरमा के छ ?


बैशाख १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘खेल’ को ट्रेलर सार्वजनिक भएको छ। सस्पेन्स थ्रिलर चलचित्रको ट्रेलरमा प्रमुख कलाकारहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी, र भोलाराज सापकोटाको अभिनय देख्न सकिन्छ ।

ट्रेलरमा शिक्षकले विद्यार्थीहरूलाई काठमाडौंको इतिहास पढाउँदै गरेका छन् भने केही अन्धविश्वास, रोगको प्रकोप र कालो जादुका विषयहरू पनि उठ्छन् । पुराना कलाकृति र शिलालेखहरूको दृश्यहरू छन् । साथीहरूबीचको मित्रता र असमझदारी दुवै देखाइएको छ । उनीहरू लुडो र अन्य खेलहरू खेलिरहेका छन् । अभिनेत्री सुरक्षा पन्तको अस्वाभाविक व्यवहार, हेना नगरकोटीको रहस्य सुल्झाउने प्रयास, र मोनिका थापा र समापिका गौतमको फरक गतिविधिले चलचित्रमा रहस्य र डरको आभास दिन्छ ।

ट्रेलरमा एउटा खेलपछि उत्पन्न हुने समस्याको चर्चा गरिएको छ । “एउटा पौराणिक कथा, सदियौँदेखिको बन्धन, एउटा घातक खेल, मित्रताको बन्धन, ईर्ष्याद्वारा भ्रष्ट, अकाट्य भोग” जस्ता वाक्यांशहरूले चलचित्रको रहस्यमय र डरलाग्दो वातावरणलाई थप बलियो बनाएका छन् । यसबाट थाहा हुन्छ कि यो चलचित्र साथीहरूको कथासँगै काठमाडौं उपत्यकाको उत्पत्ति र इतिहास पनि बताउँछ ।

चलचित्र ‘खेल’ लाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका छन् । सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रको निर्माताहरू लुइसराज महर्जन र आशिषराज महर्जन हुन् भने सह-निर्माताहरू कुणालराज गुरुङ र रहिशराज महर्जन रहेका छन् । चलचित्रको कथा आशिषराज महर्जनले लेखेका हुन् भने पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्