पूर्वी नेपालमा दर्शक भेट्दै एन्जिला, सम्मान सहित भव्य स्वागत
फागुन २९ गतेबाट रिलिज भएको चलचित्र ‘अन्जिला’ को क्रेज हलमा आकर्षक देखिएको छ। ५ करोड माथीको ग्रस कलेक्सन गरेर सुपरहिटको ट्याग पाइसकेको चलचित्रकी प्रमुख कलाकार एन्जिला तुम्बापो सुब्बा यतिबेला हलमा दर्शक भेटिरहेकी छिन्। ग्रिसमा व्यावसायिक फुटबल खेलिरहेकी एन्जिला करिव ४ दिनका लागी नेपाल आएकी हुन्। यतिबेला उनि पूर्वी नेपालमा रहेकी छिन्। इलाममा जन्मिएर नेपाली महिला फुटबल टिमकी कप्तान बनेकी एन्जिलाको पूर्वी नेपालमा भव्य स्वागत भैरहेको छ।

शुक्रवार बिहान ग्रिसबाट काठमाडौं आएकी एन्जिलाले दिउँसो काठमाडौंको छाया सेन्टरस्थित क्युएफएक्स सिनेमाजमा दर्शकहरूसँग भेटघाट गरेकी थिइन् । त्यसै दिन साँझ इटहरीको इलाइट सिनेमा हलमा पुगेर दर्शकहरूसँग अन्तरक्रिया गरिन् । शनिवार बिहान विराटनगरको क्युएफएक्स सिनेमाजमा उपस्थित भई दर्शकहरूसँग संवाद गरेपछि दिउँसो धरानको फ्रेन्ड्स सिनेमाजमा पुगिन् । धरानमा उनलाई लिम्बू संस्कृतिको च्याब्रुङ नाचद्वारा सम्मानपूर्वक हलमा प्रवेश गराइएको थियो । त्यस अवसरमा उनले एन्फा एकेडेमीका विद्यार्थीहरूसँग भेटघाट गरिन् र धरानमा जारी २५ औँ गोधुली फुटबल कपमा पनि सहभागी भइन् ।
धरान फुटबल क्लबले एन्जिला र चलचित्रका निर्माता तथा एन्जिलाका गड फादर प्रेमकुमार श्रेष्ठलाई सम्मान गरेको थियो । ‘अञ्जिला’का निर्देशक मिलन चाम्सले काठमाडौंपछि धरान नेपाली चलचित्रलाई अत्यधिक माया गर्ने सहर भएको बताउँदै, धरानमा चलचित्र हिट भए देशभरि नै सफल हुने धारणा व्यक्त गरे । ‘अञ्जिला’मा एन्जिलाको आमाको भूमिकामा सशक्त अभिनय गरेकी कलाकार सिर्जना सुब्बाले एन्जिलासँग आमा-छोरीजस्तै सम्बन्ध रहेको बताउँदै, दर्शकहरूसँग सँगै भेट्न पाउँदा खुसी व्यक्त गरिन् ।
एन्जिला विर्तामोड पुगेकी छिन्। विर्तामोडमा पनि उनको भव्य स्वागत गरिएको छ। उनि विर्तामोड र दमकका दर्शकसंग आज भेटघाट गर्नेछिन्। पूर्वी नेपाल भ्रमणका क्रममा एन्जिलालाई सशस्त्र प्रहरी बलले सुरक्षा प्रदान गरेको छ ।
हाल एन्जिला ग्रिसको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी छिन् । यही खेलको लागि उनी केही महिनायता ग्रिसमा नै रहेकी थिइन् । प्रचार सकेर उनी पुनः ग्रिस फर्किनेछिन् ।
यस चलचित्रमा एन्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ । यसमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।