कलाकारका लागी बिशेष रहने चलचित्र ‘कर्मा’ बारे के भन्छन् निर्देशक सौरभ !
एक्सन चलचित्र निर्देशकको रुपमा सौरभ चौधरीले आफुलाई चलचित्र ‘अगत्स्य’ बाट थोर बहुत प्रमाणित गरिसकेका छन्। कथालाई बुन्दै एक्सनलाई अब्बल रुपमा प्रस्तुत गर्ने कोसिसमा निर्देशक चौधरीले धेरै हदसम्म उक्त चलचित्रबाट आफुलाई स्थापित गरिसकेका छन्। उनै चौधरीको निर्देशनमा तयार भएको चलचित्र ‘कर्मा’ रिलिजको तयारीमा रहेको छ। यो चलचित्र धेरैका लागी बिशेष रहेको छ। निर्देशकको रुपमा स्वयं चौधरीलाई आफ्नो चलचित्र विशेष हुने भैगयो। आफुलाई अब्बल अभिनेताको रुपमा प्रमाणित गरेका विपिन कार्की पहिलोपटक एक्सन भूमिकामा देखिदैछन्। पात्रमा प्राण भर्ने अभिनेताको रुपमा परिचित मुकुन भुषाल पहिलोपटक नेगेटिभ क्यारेक्टरमा देखिदैछन्। उपासना सिंह ठकुरी, दिव्यदेव लगायतका कलाकार यहि चलचित्रमा एकसाथ देखिदैछन्। युवापुस्ताका सफल गायक सुशान्त केसी यहि चलचित्र मार्फत पार्श्व गायनमा देखिदैछन्।

अव धेरैका लागी बिशेष रहेको चलचित्र निर्देशक चौधरी के भन्छन् त चलचित्रका बारेमा !
निर्देशक चौधरीले चलचित्र ‘कर्मा ’मार्फत आफूले कर्मको खेलको कथा भनेको बताएका छन् । जस्तो कर्म गर्यो त्यस्तै फल पाइन्छ भन्ने पूर्वीय दर्शनमा आधारित रहेर ‘कर्मा’ बनाएको उनले संकेत गरेका छन् । टिजरमा उनले जोड दिएको संवाद ‘जे जान्छ, त्यो घुमेर आउँछ’ले पनि यसलाई प्रष्ट पार्छ ।
‘ढिलो चाँडो मात्रै हो, मान्छेले उसले असल कर्म गरे राम्रो खराब कर्म गरे त्यही अुनसार नराम्रो सजाय नै’ पाउछन्’, सौरभ बताउँछन् ।
जतिसुकै गलत काम गरे पनि त्यसलाई भाग्यले सजाय दिने उनको विश्वास छ । “कसैले गलत काम गरेर म बाट तारिफ पाइरहेको छ भने पनि कुनै न कुनै दिन अर्को कसैबाट उसले त्यसको मूल्य चुकाउनुपर्छ,” सौरभको विश्वास छ, “यही नै कर्मा हो । यसमा विश्वास गर्ने भएकैले मैले यो चलचित्र बनाएको हुँ । त्यसैले म भन्छु, सबैको राम्रो गरौँ ।”
आफूसँग नराम्रो गर्ने व्यक्तिलाई उसले राम्रो गर्न नसके त्यसको सजाय अर्को व्यक्तिबाट भए पनि मिल्ने उनको भनाइ छ । “कसैले मसँग नराम्रो गर्यो भने उसलाई मैले नराम्रो गर्न नसके पनि अर्कोले उसलाई नराम्रो गरेर ब्यालेन्स गर्छ,” उनले भने ।
चलचित्र चैत्र २९ गतेबाट रिलिज हुँदैछ। यहि मितिमा अर्को चलचित्र पनि रिलिज हुँदैछ। दुवै एक्सन जनराका चलचित्र हुन् । रिलिज मितिको बारेमा निर्देशक चौधरी आफुले पहिले रिलिज मिति तय गरेको उल्लेख गर्छन्।
“कसले कहिले रिलिज हुने मिति लिए भन्दा पनि अब सबै मिलेर कसरी हलमा दर्शकलाई ल्याउने भन्नेतर्फ सोच्नुपर्छ होला,” उनी भन्छन्, “एउटै मितिमा आउने नै भएपछि अब सबैले मिलेर हलसम्म दर्शक आउने वातावरण कसरी बनाउने त्यसतर्फ ध्यान दिन सकियो भने फाइदा हुन्छ ।”
चलचित्रमा बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायतको पनि अभिनय रहेको छ । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा वसन्त लम्सालको लगानी रहेको छ ।