‘कर्मा’ गीत: उपासनाको ठुम्का, सारी र मेकअपमा विपिन
चैत्र २९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘कर्मा’ को गीत सार्वजनिक भएको छ। सलिना बिकको स्वरमा रहेको ‘सारी लगाइदेउ’ बोलको गीत सार्वजनिक भएको हो। गीतमा सुष्मा सिग्देलको शब्द रचना र भाष्कर स्वारको संगीत रहेको छ। गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।

भिडियोमा चलचित्रका मुख्य कलाकार विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुषाल लगायत फिचर रहेका छन्। विवाह समारोहको मुडमा तयार पारिएको गीतले माया–प्रेम दर्शाउँदै व्यांगात्मक शैलीमा मर्दपनको कुरा उठाएको छ। मुकुनको बिहेमा उपासना सहितको नृत्यमा विपिनको प्रवेशलाई रोचक हिसाबले प्रस्तुत गरिएको छ। महिलाको पहिरन र मेकअपमा विपीन देखिँदा भिडयो ठठ्यौली र रमाइलो पनि देखिएको छ । यो रत्यौलीको परम्परा र विश्वास पनि हो ।
‘कर्मा’मा विपीन र उपासना र मुकुनसँगै, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लागायतको अभिनय रहेको छ । सौरभ चौधरीको लेखन तथा निर्देशनमा चलचित्र तयार भएको छ। आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा वसन्त लम्सालको लगानी रहेको छ । आर्टिस्टिक इनटरटेनमेन्टले निर्माण गरेको यो पहिलो चलचित्र हो। नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुने चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।